बागमती गाउँपालिका १, २ र ६ नम्बर वडाका १०२ जना भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा हस्तान्तरण गरिएको छ ।
हेटौंडा — आठ दशकपछि जग्गाधनी पुर्जा पाउँदा खिमबहादुर ठाडामगरले आँखाबाट आँसु झरे । खुसीले उनी बोल्न सकेनन् ।
यो पुर्जा पाउनका लागि उनले मात्र होइन बाबुले निकै प्रयत्न गरेका थिए । तर लालपुर्जा हात नपर्दै खिमबहादुरको बुबा दुर्गाबहादुरको एक दशकअघि नै निधन भयो ।
८१ वर्षदेखि यो जग्गामा आफ्नो रगत र पसिना बगाउँदै मगर परिवार बल्ल जग्गाधनी बनेका छन् । ७६ वर्ष पार गरिसकेका ठाडामागरले बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको हातबाट धनीपुर्जा पाए ।
साबिकको राईगाउँ गाविस र हालको बागमती गाउँपालिका-२ मा आयोजित लालपुर्जा वितरण कार्यक्रममा उनले जग्गाधनी पुर्जा पाएका हुन् । उनले आफ्नै जीवनकालमा लालपुर्जा पाइएला भन्ने नसोचेको बताए ।
यो अवधिमा धेरै सुकुम्वासी आयोग बने तर मगरजस्ताले लालपुर्जा पाउन सकेका थिएनन् । अहिले मगरसँगै ६९ वर्षिया सुन्तली राईले पनि आफै बसेको घरजग्गाको लालपुर्जा पाइन् ।
गाउँपालिकाका अध्यक्ष घलानले बिहीबार १, २ र ६ नम्बर वडाका १०२ जना भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा हस्तान्तरण गरे ।
जग्गाधनी पुर्जा हातमा पाएपछि सुन्तली राईले भनिन्, ‘लालपुर्जा नपाई मरिन्छ कि जस्तो लागेको थियो, अहिले पुर्जा हातमा परेपछि असाध्यै खुसी लाग्यो ।’
भूमि आयोग मकवानपुरले तयार पारिसकेको जग्गाधनी पुर्जा गाउँपालिकाले वितरण गरेको हो । बागमती गाउँपालिकाको अधिकांश बासिन्दाले खनजोत गरेको जग्गाको लालपूर्जा पाउन सकेका छैनन् । गाउँपालिकाले भने जग्गाको नापी कार्य गर्दै आएको छ ।
