६ हजार दर्शक क्षमता हुने प्यारापिटको बाहिरी संरचना लगभग तयार भइसकेको छ ।
What you should know
सिन्धुपाल्चोक — जिल्ला सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकामा निर्माणाधीन ‘मिनी रङ्गशाला’ को काम पुन: सुरु गरिएको छ ।
एक वर्षदेखि अलपत्र परेको आयोजना सार्वजनिक खरिद नियमावलीको १४औँ संशोधनले ‘विशेष व्यवस्था’ उपलब्ध गराएपछि पुनः सक्रिय बनेको हो । सरकारले भुक्तानी रोक्दा ठेकेदारले काम छाडेपछि रोकिएको रङ्गशाला अहिले तेस्रोपटक म्याद थपेर अघि बढाइएको छ ।
२०७६ सालमै प्रारम्भिक सम्झौता भएर गिरी जेभी कन्स्ट्रक्सनमार्फत काम सुरु भएको यो परियोजनामा निर्धारित समयभित्र प्रगति नदेखिएपछि दुई पटक म्याद थपिए पनि काम पूरा हुन सकेन । अन्ततः आन्तरिक सहमतिमार्फत जेभीका साझेदार लिम्बू–सुनकोशीले जिम्मेवारी सम्हाल्दै तेस्रोपटक निर्माण थालिएको हो ।
'वर्षौँदेखि निर्माणधीन रङ्गशाला हेर्दै थाकेका स्थानीय खेलप्रेमी भने हालको गतिलाई आशाको संकेत मानिरहेका छन्,' स्थानीय अगुवा रविन्द्र श्रेष्ठले भने । समयमै काम सकिए चौतारामा प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गर्न सकिने भन्दै खेलाडी उत्साहित देखिएको उनले जनाए ।
दर्शकदीर्घा लगभग पूरा, भित्री काम तीव्र
६ हजार दर्शक क्षमता हुने प्यारापिटको बाहिरी संरचना लगभग तयार भइसकेको छ । अहिले भित्री रङरोगन, कोठा निर्माण र विद्युत् जडान एकसाथ अघि बढिरहेका छन् । निर्माणस्थलमा दैनिक करिब ८० मजदुर परिचालन हुँदा काममा देखिएको सुस्तता हट्दै गएको छ ।
कुल ४१ करोड ६२ लाख २७ हजार रुपैयाँ लागतको यो आयोजनामा पटक–पटक म्याद बढ्दा समेत काम अधुरो रहँदै आएको थियो । अब भने सामाजिक विकास कार्यालयले २०८३ असार मसान्तलाई अन्तिम समयसीमा तोकेको छ । मैदान, लाइट र पार्किङ जस्ता प्रमुख संरचना अझै बाँकी छन् ।
गत वर्ष सम्पन्न कामको करिब तीन करोड रुपैयाँ सरकारी भुक्तानी रोकिनु ठेकेदार कम्पनीका लागि मुख्य चुनौती बनेको छ । भुक्तानी नपाउँदा आवश्यक जनशक्ति तथा सामग्री व्यवस्थापनमा समस्या बढेको निर्माण पक्षको भनाइ छ ।
