सिएमसीको भरतपुरमा रहेको शिक्षण अस्पतालले गत भदौदेखि रोबोटबाट शल्यक्रिया (रोबोटिक सर्जरी)सुरु गरेपछि हालसम्म १४ जनाले सेवा लिएका छन् ।
चितवन — शल्यक्रिया (सर्जरी) गर्ने बिरामीको छेउमा रोबोट हुने छ । सर्जरी टेबलभन्दा अलि पर बसेका चिकित्सकले दिने निर्देशन अनुसार बिरामीको शरीरमा रोबोटको हात (रोबेटिक आर्म्स)ले सर्जरी गर्ने छ ।
चितवन मेडिकल कलेज (सिएमसी)को भरतपुरमा रहेको शिक्षण अस्पतालले गएको भदौदेखि रोबोटले यसरी गर्ने शल्यक्रिया (रोबोटिक सर्जरी)सुरु गरेपछि हालसम्म १४ जनाले यो सेवा लिएका छन् ।
सिएमसीले शुक्रबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पताल निर्देशक डा.दायाराम लम्सालले नेपालमा यस्तो सेवा सुरु गर्ने आफुहरु दोस्रो र काठमाडौं उपत्यका बाहिर पहिलो भएको दाबी गरे । ‘रोबोटिक सर्जरी चिकित्सा क्षेत्रमा विश्वव्यापी रुपमा तीब्र प्रचलनमा आएको २५ वर्ष भयो । नेपालमा गत वर्षबाट यसको सुरुवात भएको हो । हामी यो अपनाउने दोस्रो हौं,’ उनले भने ।
सर्जरी टेबलभन्दा पर बसेर चिकित्सकले कम्प्युटर स्क्रिनमा उपकरणको गति र दिशा नियन्त्रण तथा निर्धारण गर्दै रोबाेटिक आर्म्सलाई शल्यत्रिया गर्न लगाउँछन् । यसबाट कठिन र जटिल खालका सर्जरी सहजै गर्न सकिने र बिरामीलाई शारीरिक तथा मानसिक अफ्ठ्यारा पनि नहुने डा.लम्सालले बताए । उनले भने, ‘रोबोट मात्रैले नभएर चिकित्सकले कम्प्युटरबाट दिने निर्देशन बमोजिम हुने सर्जरी हो ।’
सिएमसीमा रोबोटिक तथा युरो सर्जन डा.प्रतीकमान सिंह गुरुङ तथा जिआई सर्जनहरु डा.विशाल आचार्य र डा.रोहितकुमार मिश्रको टोलीले यो शल्यक्रिया गर्दै आएको छ । चिरेर गरिने (ओपन सर्जरी) र दुरबिन प्रविधिबाट गरिने सर्जरीभन्दा रोबोटिक सर्जरी अत्याधुनिक र बिरामी मैत्री भएको डा.लम्सालले बताए । कम रक्तस्राव, कम पीडामा सर्जरी गर्न सकिने र निको पनि चाँडै हुने डा.लम्साल बताउँछन् । ‘अप्रेशन गर्दा सानो प्वाल पारे पुग्छ । रगत धेरै नबग्ने, पीडा कम हुने र निको पनि चाँडै हुने देखिएको छ । जसले गर्दा अन्य संक्रमणको जोखिम पनि भएन,’ डा.लम्सालले भने ।
मांसपेशी र भित्री अंगमा थोरै चोट पर्ने र अप्रेशन गर्नुपर्ने अंगको पनि सीमित भागमा मात्रै छुने हुँदा बिरामी अरु अप्रेशनमा जस्तो शिथिल नहुने डा. गुरुङले सुनाए । ‘अहिले जुन तरिकाबाट सर्जरी हुन्छ त्यस्ता बिरामीको अवस्था निकै नाजुक, थकित, त्रसित र कमजोर हुन्छ । रोबेटिक सर्जरीबाट बिरामीलाई कुनै गहिरो तनाब पर्दैन । सर्जरी भएपछि लामो समय अस्पताल बस्नु पर्दैन । एकाध दिनमै अस्पतालबाट फर्कन्छन्,’ डा.गुरुङले भने । रोबेटिक सर्जरीका कारण ठूलो शल्यक्रिया पनि चितवनमै सम्पन्न गर्न सम्भव भएको उनले बताए ।
सिएमसीले रोबोटिक सर्जरी सेवा सुरु गर्न उपकरणलगायतका क्षेत्रमा ३२ करोड रुपैयाँ लगानी गरेको अस्पताल निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । यस्ताे सेवा तुलनात्मक रुपमा केही महंगो परे पनि उपचार प्रभावकारी हुने भएका कारण विश्वव्यापी प्रचलन बढ्दो रहेको उनले बताए । रोबोटिक सर्जरीको सिएमसीमा ४० हजारदेखि दुई लाख रुपैयाँसम्म खर्च लाग्ने उनले बताए । ‘हामीले रोबोटिक सर्जरीको जुन शुल्क लिएका छौं त्यो खर्चको तुलनामा कम हो । शैक्षिक कार्यक्रम चलाउने संस्था भएकाले यस्तो प्रविधिबारे विद्यार्थी पनि जानकार हुनुपर्यो । त्यसैले सेवा सुरु भएको हो । साथै बिरामीलाई पनि सहुलियत होस् भनेर धेरै शुल्क लिएका छैनौं,’ डा.लम्सालले भने ।
सन् १९८० को दशकको अन्त्यतिर अमेरिकी सेनाले युद्ध क्षेत्रमा घाइते हुने सैनिकको टाढाबाटै उपचार गर्नका लागि रोबोटिक सर्जरीको अवधारणा ल्याएको डा.लम्सालले बताए । सन् १९९० को दशकपछि अस्पतालहरुमा पनि प्रयोगमा आयो । सन् २००० पछि यसको प्रयोगमा तिब्रता आएको थियो । भारतमा सन् २०१० पछि प्रयोगमा आएर अहिले १५० भन्दा बढी अस्पतालले अपनाइरहेको पनि उनले बताए ।
