संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रामेछापमार्फत ३४ करोड ७२ लाख रुपैयाँ लागतमा सुरु गरिएको यो आयोजना ढिलाइ भएपछि खानेपानी अभावले स्थानीय निराश बनेका छन् ।
What you should know
रामेछाप — मन्थली नगरपालिका-७ भटौली, वडा नं. ८ चिसापानी र वडा नं. ९ पुरानागाउँका २ हजार ७ सय ४१ घरधुरीमा खानेपानी पुर्याउने लक्ष्यसहित सुरु गरिएको मन्थली पम्पिङ खानेपानी आयोजना अझै पूरा हुन सकेको छैन ।
तामाकोशी नदीबाट पानी लिफ्ट गरेर १५ हजार १ सय २५ जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको आयोजना २०८१ असारसम्म सम्पन्न गर्ने लक्ष्य थियो । तर ठेकेदार कम्पनी सगुन कन्स्ट्रक्सनले तोकिएको समयमा काम पूरा गर्न नसक्दा परियोजना अलपत्र परेको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रामेछापमार्फत ३४ करोड ७२ लाख रुपैयाँ लागतमा सुरु गरिएको यो आयोजना ढिलाइ भएपछि खानेपानी अभावले स्थानीय निराश बनेका छन् ।
मन्थली नगरपालिका–७ भटौलीस्थित थाक्ले, मुगिखोला लगायतका बस्तीका बासिन्दा वर्षौंदेखि खानेपानीको चरम अभावमा बाँचिरहेका थाक्लेकी आशामाया तामाङले बताइन् । 'पाँच वर्षमा सकिने आयोजना भन्थे, तर काम सुरु भएको धेरै वर्ष बितिसक्दा पनि हाम्रो घरमा अझै पानी आएको छैन,' उनले भनिन्, 'घरमाथि ट्याङ्की त बनेको छ, तर पानी आउने आस मात्रै बाँकी छ। पानी आउँछ भन्दाभन्दै सासै जालाजस्तो छ।'
उनका अनुसार थाक्ले गाउँमा ८० भन्दा बढी घरपरिवार छन्, तर पानीको सङ्कट यति गम्भीर छ कि धेरै परिवार बाध्यतावश गाउँ छोडेर अन्यत्र बसाइँ सरेका छन्। 'जो अझै गाउँमा छन्, उनीहरू तीन घण्टा लगाएर खोलाबाट पानी बोक्दै दैनिकी चलाउन बाध्य छन्,' तामाङले दुखेसो गरिन्।
मन्थली नगरपालिका–७ का स्थानीय छत्रबहादुर मुग्रीताका अनुसार वर्षायाममा गाउँमा केही चहलपहल देखिए पनि हिउँद लागेपछि खानेपानीको अभावले गाउँ सुनसान बन्ने गर्छ। उनी भन्छन्, 'यहाँका बासिन्दा वर्षौंदेखि खानेपानीको चरम अभावमा बाँचिरहेका छन्। धेरै परिवार पानीको समस्या सहन नसकेर बसाइँ सरिसकेका छन्, अन्त जान नसक्ने परिवार अझै यहाँ टिकेका छन्।'
मुग्रीताका अनुसार हिउँदमा बाँकी रहेका परिवार दैनिक खानेपानीका लागि भटौली खोलातिर झर्न बाध्य हुन्छन्। 'तामाकोशीको पानी लिफ्ट प्रणालीमार्फत घरमै आउने भयो भनेर हामी निकै उत्साहित थियौं,' उनले भने, 'तर आयोजना समयमा सम्पन्न नहुँदा अहिले स्थानीय निराश बनेका छन्।'
काम गरेको बजेट समयमा उपलब्ध हुन नसक्दा कामको गति दिन नसकिएको निर्माण कम्पनीको भनाइ छ ।संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रामेछापका अनुसार मन्थली पम्पिङ खानेपानी आयोजना २०७९ असार २३ गते सम्झौता भएको हो। दुई वर्षभित्र अर्थात् २०८१ असार २७ गते सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको यो आयोजना तोकिएको म्यादभित्र सम्पन्न हुन सकेको छैन।
कार्यालय प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार बजेट अभाव लगायत विभिन्न कारण काममा ढिलाइ भएको हो। उनका भनाइमा हाल आयोजनाको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५६ प्रतिशत मात्र पुगेको छ । श्रेष्ठका अनुसार आयोजना फिल्टर युनिटसहितको बहुवर्षीय परियोजना हो। यस्ता दीर्घकालीन आयोजना सञ्चालनमा प्रायः रकमान्तरका समस्या र बजेट अभावका कारण निर्माण कम्पनीलाई निरन्तर काम गर्न कठिनाइ हुने गर्छ।
'निर्माण कम्पनीले सम्पन्न गरेका कामबापतको १२ करोड रुपैयाँ अझै भुक्तानी दिन बाँकी छ,' उनले भने। समयमा काम सम्पन्न नभएपछि कार्यालयले अब आयोजना सम्पन्न गर्न सोही निर्माण कम्पनीलाई २०८३ कार्तिक २ गतेसम्म म्याद थप गरेको उनले बताए ।
