भाइरलको जोखिम बढेपछि उमाकुण्डका सबै विद्यालय तीन दिनका लागि बन्द

पछिल्ला दिन विद्यार्थीमा ज्वरो, खोकी, रुघाखोकीजस्ता लक्षण देखिन थालेपछि स्वास्थ्य जोखिम बढेको ठहर गर्दै पालिकाले विद्यालय बन्दको निर्णय गरेको हो ।

कार्तिक २७, २०८२

नवराज श्रेष्ठ

All schools in Umakunda closed for three days due to increased risk of virus

रामेछाप — उमाकुण्ड गाउँपालिकाभित्रका विद्यालयमा भाइरल फ्लुको सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि गाउँपालिकाले तीन दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

पछिल्ला दिन विद्यार्थीमा ज्वरो, खोकी, रुघाखोकीजस्ता लक्षण देखिन थालेपछि स्वास्थ्य जोखिम बढेको ठहर गर्दै शुक्रबारदेखि आइतबारसम्म सबै विद्यालयमा अध्यापन कार्य रोक लगाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलका अनुसार विद्यालयलाई मङ्सिर १ देखि नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अभिजीत सुनुवारले कात्तिक १६ गतेदेखि हालसम्म निरन्तर रूपमा भाइरल फ्लु फैलिरहेको जनाउँदै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । ज्वरो, खोकी, जिउ दुख्ने र घाटी दुख्नेजस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार र औषधि सेवन गर्न उनले आग्रह गरे । 

स्वास्थ्य शाखाले सबैलाई बाहिर हिँड्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, फ्लुको लक्षण देखिएमा घरमै विश्राम गरी अन्यसँग सम्पर्क कम गर्न, मनतातो पानी र झोलिला खानेकुरा बढी सेवन गर्न र निको नहुँदासम्म जथाभाबी हिँडडुल नगर्न आग्रह गरेको छ।

सङ्क्रमणको जोखिम अझ बढ्न नदिन समुदाय स्तरमै सावधानी अपनाउन र विद्यालयहरूले स्वच्छता तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्न समेत स्वास्थ्य शाखाले अनुरोध गरेको छ।

उमाकुण्ड गाउँपालिकाको ७ वटै वडामा कात्तिक १६ बाट भाइरल फ्लु फैलिरहेको छ । विद्यार्थीमा सङ्क्रमण फैलन थालेपछि केही विद्यालयहरूले गत मंगलबारबाटै पठनपाठन बन्द गरिसकेका छन् । 

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully