संरक्षणमा यादवले दिएको योगदानको कदरस्वरूप यो वर्षको घडियाल छाड्ने कार्यक्रम बुधबारबाट सुरु भएको हो ।
What you should know
चितवन — दिवंगत संरक्षणकर्मी रामप्रित यादवको सम्झना र सम्मानमा बुधबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले १५ वटा घडियाल गोहीलाई प्रजनन केन्द्रबाट प्राकृतिक बासस्थल राप्ती नदीमा छाडेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको साँध निर्धारणमा संलग्न संस्थापक कर्मचारी यादव सोही निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर लामो समय सरकारी सेवामा रहेका थिए । सिरहा घर भएका यादव सरकारी सेवाबाट अवकाश पाए पनि चितवनमै बसेर वन, निकुञ्ज र वन्यजन्तु संरक्षणका लागि सचेतना फैलाउने कार्यमा सक्रिय रहे । उनको ८३ वर्षको उमेरमा शनिबार बिहान निधन भयो ।
चितवन निकुञ्जको संस्थापक कर्मचारी तथा पूर्व प्रमुखका साथै घडियाल प्रजनन केन्द्रका संस्थापक प्रमुख पनि रहेका यादवको सम्झना र संरक्षणमा उनले दिएको योगदानको कदर स्वरुप यो वर्षको घडियाल छाड्ने कार्यक्रम बुधबारबाट सुरु भएको चितवन निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत अविनास थापा मगरले बताए । वन मन्त्रालयका निमित्त सचिव रामचन्द्र कँडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक बुद्धिसागर पौडेल पनि सो कार्यक्रममा सहभागी थिए ।
२०२९ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन जारी भएपछि नेपालको पहिलो राष्ट्रिय निकुञ्जका रुपमा चितवन निकुञ्जको घोषणा भएको थियो । यादव त्योभन्दा पहिल्यै २०२७ सालमा चितवन आए । उनकै नेतृत्वमा चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा २०३५ सालमा घडियाल गोही प्रजनन् केन्द्र खुलेको थियो । घडियाल सफा पानीमा बस्ने, राम्रो बालुवामा गुँड बनाएर अण्डा पार्ने र बच्चा कोरल्ने तथा माछा मात्रै खाने सफा वातावरणको सूचक हो । वातावरण प्रदूषण लगायतका समस्याले घडियालको संख्या निकै कम भएर गएको छ ।
बाघ, गैंडाभन्दा पनि दुर्लभ र संकटपूर्ण अवस्थमा रहेको घडियालको संख्या बढाउनका लागि कसरामा प्रजनन केन्द्र खुलेको हो । प्राकृतिक रुपमा बगरका गुँडबाट निस्केका बच्चा बाँच्ने र हुर्कने दर निकै नै कम भएपछि प्रजनन केन्द्रमा बच्चा हुर्काएर ठूलो भएपछि प्राकृतिक बासस्थल विभिन्न नदी र खोलाहरुमा छाडिन्छ । जसका कारण घडियालको संख्या केही सुधारेन्मुख देखिन्छ ।
प्रजनन केन्द्र स्थापना भएपछि त्यहाँ हुर्केका दुई हजार १०५ घडियाल नदी र खोलाहरुमा छाडिएको छ । तर घडियालको संख्या निकै नै कम छ । गत वर्षको हिउँदमा गरिएको अनुगमनका क्रममा राप्तीमा २०६ र नारायणीमा १४६ गरेर चितवन निकुञ्ज आसपासका नदी र खोलामा ३५२ घडियाल गोहीहरु रहेको चितवन निकुञ्ज घडियाल प्रजनन् केन्द्रका प्रमुख सुजिता श्रेष्ठले बताइन् ।
