ठगी गरेको आरोपमा पर्सा वीरगन्ज महानगरपालिका-२४ का २८ वर्षीय राजु सर्राफ, ४० वर्षीय रामराउत कुर्मी र वीरगन्ज-३२ घर भई हाल हेटौंडा उपमहानगरपालिका-१० टिसिएनरोडमा कोठा भाडामा लिएर बसेका ४० वर्षीय नितेशकुमार केशरीलाई पक्राउ गरिएको हो ।
हेटौंडा — 'सूर्य नेपाल प्रालिको कर्मचारी हौं' भनी हेटौंडाका व्यापारीहरुलाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सूर्य नेपालको निम्ति भन्दै विभिन्न मितिमा हेटौंडाका व्यापारीलाई अनलाइनमार्फत सामान मगाएर ठगी गरेको आरोपमा पर्सा वीरगन्ज महानगरपालिका-२४ का २८ वर्षीय राजु सर्राफ, ४० वर्षीय रामराउत कुर्मी र वीरगन्ज-३२ घर भई हाल हेटौंडा उपमहानगरपालिका-१० टिसिएनरोडमा कोठा भाडामा लिएर बसेका ४० वर्षीय नितेशकुमार केशरीलाई पक्राउ गरिएको हो ।
उनीहरुले हेटौंडाका विभिन्न व्यवसायीहरुलाई अनलाइनबाट सामानको अर्डर गरी रकम जम्मा गरेको नक्कली बैंक भौचर हृवाटसपमार्फत सामानहरु वीरगन्जतर्फ डेलिभरी गर्न लगाई ठगेको प्रहरीले जनाएको छ । विद्युती सामान,खाद्यान्नलगायतका १७ लाख ८७ हजारबराबरको सामान वीरगन्जतर्फ डेलिभरी गर्न लगाएर ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले बताए ।
उक्त ठगी कार्यमा अन्य व्यक्तिहरु पनि संलग्न रहेको हुन सक्ने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
