स्थानीयद्वारा लोथरमा काठेपुल

मंगलबारदेखि काठेपुलबाट पैदलयात्री, मोटरसाइकल र अटोहरू सहज ढंगले आउजाउ गर्न थालेका छन् ।

कार्तिक २६, २०८२

प्रताप विष्ट

Locals build wooden bridge in Lothar

What you should know

हेटौंडा — पक्की पुलको अभावमा वर्षायाममा मोटरसाइकल बोकेर वारपार गर्नुपर्ने लोथर खोलामा हिउँद लागेपछि स्थानीयवासीले काठेपुल हालेका छन् । खरखण्डे मागिनी टोल विकास संस्था, सिलिङे सामुदायिक वन र स्थानीय युवाको सामूहिक प्रयासपछि काठेपुल बनाउन सम्भव भएको हो ।

हिउँद महिना लागे पनि अटो, मोटरसाइकल र पैदलयात्री खोलामा जोखिम मोलेर हिँड्नु पर्ने भएकाले एक साता लगाएर काठे पुल बनाएको स्थानीय रावन चेपाङले बताए । मंगलबारदेखि काठेपुलबाट पैदलयात्री, मोटरसाइकल र अटोहरू सहज ढंगले आउजाउ गर्न थालेका छन् ।

राप्ति नगरपालिका—११ स्थित थालकटारमा रहेको माविमा खरखण्डे र सिलिङेका तल्ला भेगका विद्यँर्थी हिउँदमा पनि लोथर खोला तरेर पढ्न आउजाउ गर्नुपर्ने वाध्यता थियो । काठेपुल बनेपछि स्कुल आउजाउ गर्न सहज भएको छ । वर्षायाममा बस्ती र स्कुलभन्दा निकै टाढा बनेको झोलुङ्गे पुलबाट आउजाउ गर्नु पर्थ्यो, अहिले खोलामा काठेपुल बनेपछि विद्यार्थीलाई पनि सहज भएको सिलिङे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर मोक्तानले बताए । 

वर्षायाममा एउटा मोटरसाइकल तारेको २ हजार रुपैयाँ ढुवानी भाडा लिने गरेका थिए । ‘लोथर खोलामा पक्की पुल नबन्दा बिरामीका लागि उपचार गर्न लैजान एम्बुलेन्स ल्याउन पनि समस्या छ,’ राक्सिराङ गाउँपालिकाका पूर्ववडाध्यक्ष सिंहबहादुर चेपाङले भने ।

राक्सिराङ गाउँपालिकाका ६, ७, ८ र ९ नम्बर वडाका बासिन्दा यही खोला तरेर आउजाउ गर्छन् । गाउँमा उत्पादित कृषिजन्य बस्तु पनि सवारी साधनले यही खोला पार गरेर ल्याउनु पर्छ । तर वर्षायाम लागेपछि लोथर खोलाका कारणले सवारी साधन संचालन हुन सक्तैनन् ।

उक्त क्षेत्रमा पक्की पुल निर्माण गर्न राक्सिराङ गाउँपालिकाले प्रदेश र संघीय सरकारसँग माग गर्दै आएको तर सुनुवाइ नभएको पालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully