उपत्यकाबाहेक मकवानपुर, धादिङ, चितवन, रसुवा र सिन्धुलीका कारागारबाट १ हजार ८ सय १८ कैदीबन्दी फरार भएका थिए।
What you should know
हेटौँडा — जेन–जी आन्दोलनको क्रममा असोज २४ र २५ गते बाग्मती प्रदेशका उपत्यकाबाहेकका ५ जिल्लाका कारागारको पर्खाल फोडेर फरार भएका कैदीबन्दीमध्ये ४ सय ३९ जना अझै फरार छन्।
बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको तथ्यांक अनुसार उपत्यकाबाहेक मकवानपुर, धादिङ, चितवन, रसुवा र सिन्धुलीका कारागारबाट १ हजार ८ सय १८ कैदीबन्दी फरार भएका थिए।
मंगलबारसम्म ४ सय ३९ जना अझै फरार छन्। १ हजार ३ सय ६७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर कारागार फर्काइएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रहरी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए। कारागारमा आएका कैदीवन्दीमध्ये केही आफैं फर्केका पनि छन्।
प्रहरी प्रवक्ता बस्नेतका अनुसार क्षेत्रीय कारागार भीमफेदीबाट फरार भएका ४ सय ४० जनामध्ये २ सय ६८ जनालाई मात्रै नियन्त्रणमा लिन सफल भएको छ। बाँकी १ सय ७२ जना अझै फरार छन्। उनीहरूको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ। त्यसैगरी, हेटौडा उपमहानगरपालिका–११, थानाभर्याङमा रहेको बाल सुधार गृहबाट फरार भएका ७२ जना बालमध्ये १० जना अझै बेपत्ता छन् भने ६२ जनालाई नियन्त्रणमा लिएको बताइएको छ।
जेन–जी प्रदर्शनकै क्रममा चितवन कारागारबाट फरार भएका ७ सय ३८ जना कैदीवन्दीमध्ये अझै १ सय ३५ जना नियन्त्रणमा लिन बाँकी रहेको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए। उनका अनुसार हालसम्म ६ सय ३ जनालाई विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएर कारागार फर्काएको छ।
यसैगरी, रसुवा कारागारबाट फरार ९७ जना कैदीवन्दीमध्ये प्रहरीले ९४ जनालाई नियन्त्रणमा लिएको तथ्यांक छ भने अझै ३ जनाको खोजी भैरहेको छ। सिन्धुली कारागारबाट फरार भएका ४ सय ७१ जनामध्ये ३ सय ५२ जनालाई नियन्त्रणमा लिएको छ भने १ सय १९ जना अझै फरार छन्।
अझै फरार रहेका कैदीवन्दीमध्ये अधिकांश जघन्य अपराधमा संलग्न रहेका छन्। फरार रहेकाहरूमा वन्यजन्तुका शिकारी, बलात्कारी, लागु औषध कारोबारी, अपहरणकर्ता र कर्तव्य ज्यानमा संलग्न अपराधी रहेका छन्। यसरी अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका कैदी र पुर्पक्षमा थुनामा रहेका वन्दीहरू अनधिकृत रूपमा फरार भएपछि समाजमा असुरक्षा र त्रास फैलिएको छ।
