बाँझै थियो खेत, स्कुलले फलायो २५ मुरी धान

धान बिक्री गरेर विद्यालयको कोषमा जम्मा गर्ने र विद्यार्थीहरूलाई अर्गानिक खाजा खुवाउने विद्यालयको योजना

कार्तिक २५, २०८२

प्रताप विष्ट

The field was barren, but the school grew 25 bushels of rice.

What you should know

हेटौंडा — मकवानपुरको एक दुर्गम पालिकाको विद्यालयले बाँझो खेतमा धान खेती गरेर स्कुललाई आर्थिक रूपमा सबल बनाउन सफल भएको छ ।  बागमती गाउँपालिका–७, लामिटारस्थित बालज्योति आधारभूत विद्यालयले ३१ कठ्ठा बाँझो जमिनमा धान खेती गरेर २५ मुरी धान उत्पादन गर्न सफल भएको छ ।

विद्यालयको व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकको सामूहिक श्रमदानबाट विद्यालय परिसरनजिकै रहेको लामिटार फेदीको बाँझो जग्गामा धान खेती गरिएको हो ।

विद्यालयले  केही वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गालाई उत्पादनमुखी बनाउन ‘शिक्षासँगै श्रम र उत्पादन’ भन्ने मूल नाराका साथ कृषि गतिविधि थालेको हो । विद्यालयले शिक्षालाई व्यवहारिक सीपसँग जोड्न सकिन्छ भन्ने सन्देश दिन यस किसिमको पहल गरेको विद्यालयका प्रधानाध्यापक दुर्गबहादुर थापाले बताए ।

‘उक्त जमिन केही स्थानीयवासीले अतिक्रमण गरेर झन्डै कब्जा गरिसकेका थिए,’ उनले भने, ‘अहिले विद्यालयले तारबार लगाएर जग्गाको संरक्षण गर्नुका साथै धान खेती गरेको हो ।’ धान रोप्नमात्र होइन, भित्र्याउन पनि शिक्षक, व्यवस्थापन समिति र अभिभावकहरूले श्रमदान गरेका थिए ।

विद्यार्थीमा श्रमप्रतिको सम्मान र आत्मनिर्भर सोच विकास गर्न तथा खेर गइरहेको बाँझो जमिन उत्पादनमुखी बनाउने काम गरेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सिर्जना गोलेले भनिन्, ‘शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारिक शिक्षासँग जोड्ने लक्ष्य लिएका छौं ।’

उत्पादित धान बिक्री गरेर विद्यालयको कोषमा जम्मा गर्ने र विद्यार्थीहरूलाई अर्गानिक खाजा खुवाउने विद्यालयको योजना रहेको छ । ‘उक्त जमिनमा लगाएको धान काटिसकेका छौं, अब आलु र मकै लगाउने सोचमा छौं,’ प्रअ थापाले भने । तामाङ समुदायका बालबालिका मात्र अध्ययन गर्ने उक्त विद्यालयमा ९४ जना छात्रछात्रा अध्ययनरत छन् । तीन जना शिक्षक कार्यरत छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully