विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीमा ज्वरो, खोकी, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिन थालेपछि विद्यालय प्रशासनले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाले बताए ।
रामेछाप — भाइरल फ्लुको सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि रामेछापको उमाकुण्ड गाउँपालिका–४, प्रितीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाका अनुसार मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले सङ्क्रमणको जोखिम नियन्त्रणका लागि कार्तिक २६ गते बुधबारदेखि शुक्रबारसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।
विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीमा ज्वरो, खोकी, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिन थालेपछि विद्यालय प्रशासनले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक जेस्पुचाले बताए ।
मंगलबारसम्म विद्यालयमा अध्ययनरत ३ सय ६९ विद्यार्थीमध्ये १ सय ८५ जना बिरामी परेको उनको भनाइ छ । उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारका अनुसार गाउँपालिकाभित्र भाइरल फ्लु र सर्ने खालको ब्याक्टेरिया सङ्क्रमण देखिएको छ।
अहिले पालिकाका ७ वटै वडाका १ सय ३९ महिला र १ सय ४४ पुरुष गरी २ सय ८३ जना भाइरल फ्लुका बिरामीको उपचार भइरहेको उनले बताए । पालिकाभरिका ४ सय १३ विद्यार्थी बिरामी परेको पनि उनले बताए ।
