राष्ट्र बैंकको नमुना छनोटमा परेका उद्योगहरूमध्ये चाउचाउ उद्योगले सबैभन्दा बढी क्षमता उपयोग गरेको छ भने लत्ता कपडा मध्येको गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।
What you should know
काठमाडौँ — अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बागमती प्रदेशका उद्योगहरुको क्षमता उपयोग घटेको छ ।
राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशका नमुना छनौटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३८.७ प्रतिशत छ । गत वर्ष यस्तो क्षमता उपयोग ४४.३ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकको नमुना छनोटमा परेका उद्योगहरूमध्ये चाउचाउ उद्योगले सबैभन्दा बढी क्षमता उपयोग गरेको छ भने लत्ता कपडा मध्येको गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्ष बागमती प्रदेशका उद्योगको उत्पादनमध्ये वियर, चुरोट, टान्सफर्मर तथा औषधिमध्येको ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, ड्राइसिरप र लिक्विडको उत्पादन बढेको छ ।
तर, प्रशोधित दूध, पशुदाना, चाउचाउ, हल्का पेय पदार्थ, पश्मिना, गार्मेन्ट, रंग, इँटा, बिजुलीको उत्पादन घटेको छ । सो प्रदेशमा ६ हजार ७८ जना स्वदेशी र १ सय ८८ जना विदेशी गरी कूल ६,२६६ जनालाई रोजगारी प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।
बागमती प्रदेशमा सञ्चालित अधिकांश उद्योगहरू काठमाडौं उपत्यका, चितवन र मकवानपुरमा अवस्थित छन् ।
यस प्रदेशमा रहेका प्रमुख उद्योगहरूमा छालाका जुत्ता, कपडाका जुत्ता, गलैंचा, पश्मिना, फेल्टका सामान, जीवजन्तुको आहार, ऊनको तयारी पोसाक, सुतीको तयारी पोसाक, सजावटका सामान, चाउचाउ, बिस्कुट, पेय पदार्थ, इँटा, औषधि र सिमेन्ट उद्योगहरू पर्दछन् ।
आर्थिक वर्ष २०८१/८२ मा कूल ५४३ उद्योगहरू दर्ता भएका छन् । स्थापना गरिएका यस्ता उद्योगहरूको सञ्चालनले बागमती प्रदेशको आर्थिक विकासमा थप टेवा पुग्ने देखिने प्रतिवेदनमा उल्लेख छ ।
