अब राजधानी काठमाडौंसम्म नियमित बस सेवा सञ्चालन हुनेछ ।
What you should know
रामेछाप — लिखुतामाकोशी गाउँपालिका-२ र ४ को भूगोल हुँदै जोडिने नागी पहरे–पुलु–बेलौरी सडक खनिएको दशक बिते पनि गाडी नगुड्दा स्थानीय निराश थिए । तर शनिबार उनीहरुको मुहारमा खुसी झल्कियो । १० वर्षपछि बस गाउँमा पुगेको छ ।
अरनिको यातायात सेवा समितिको बस पुगेको दिनलाई स्थानीयले उत्सवकै रूपमा मनाए । बस गाउँमा प्रवेश गर्दा गाउँलेहरूले फूल मालाले चालक र सहचालकसँगै बस ल्याउन पहल गर्ने जनप्रतिनिधिको भव्य स्वागत गरे।
बस सञ्चालनसँगै पहरे, रादुङ, दुसिम, डाँडा खर्क, जेटी लगायतका बस्तीका बासिन्दा अत्यन्तै हर्षित भएका छन्। यस सडकले अब वडा नं २ सैपुका साबिक वडा नं २ र ३ तथा वडा नं ४ का विभिन्न गाउँ जोड्नेछ ।
वडा २ सैपु पहरेका सुभराज सुनुवारका अनुसार, बस सञ्चालन नहुँदा गाउँले वर्षौँसम्म कठिनाइमा थिए। बाँसको मुडा व्यवसायी समेत रहेका सुनुवारले भने, 'हामीले बाँसबाट मुडा, डालो, नाङ्लो बनाउँछौँ, तर सडक भएर पनि बस नचल्दा बजार पुर्याउन समस्या थियो । अब भाडा तिरेर सजिलै सामान पठाउन सकिन्छ, यो त हर्षको सीमा नाघ्ने खबर हो।'
रादुङ र दुसिम गाउँ जुनार, सुन्तला र अन्य अमिलो फलफूल उत्पादनका लागि प्रसिद्ध छन्। अब यातायात सहज भएपछि यी कृषिजन्य उत्पादन पनि बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
बस सञ्चालनमा अरनिको यातायात सेवा समिति र व्यवसायी अर्जुन पौडेलको ठूलो योगदान रहेको वडा नं २ सैपुका वडाध्यक्ष सन्तोष पौडेलले बताए। उनले भने, '१० वर्षपछि पनि यो सडकमा बस गुड्नु हाम्रो गाउँका लागि ऐतिहासिक क्षण हो। आजदेखि राजधानी काठमाडौँबाटै यो बाटोमा नियमित बस सेवा सञ्चालन भइसकेको छ।'
उनका अनुसार आइतबारबाट काठमाडौँको चाबहिलबाट धोबी, नागी हुँदै पहरे–पुलु–बेलौरीसम्म नियमित बस सेवा सुरु भएको हो। बस सेवा सञ्चालनसँगै गाउँका बासिन्दालाई आवतजावत र सामान ढुवानीमा सहजता हुनेछ।
वडाध्यक्ष पौडेलले थपे, 'अब नियमित बस सञ्चालनले लिखुतामाकोशी गाउँपालिकाका वडा नं २ र ४ का बस्तीहरूमा आर्थिक, सामाजिक र शैक्षिक विकासमा नयाँ गति ल्याउनेछ।'
