बजेट कटौती गरेर पुनर्निर्माणमा लगाउँदै भरतपुर महानगर

आउँदो वर्षभित्रै नयाँ भवन प्रयोग गर्न मिल्ने भएकाले नयाँ भवन बनाउनुपर्ने आवश्यकता छैन । तर वडा कार्यालय भवन र दैनिक प्रशासन चलाउन आवश्यक पर्ने यन्त्र, उपकरण, फर्निचरका लागि स्रोत जुटाउनुपर्ने भएकाले बजेट कटौती

कार्तिक २३, २०८२

रमेशकुमार पौडेल

Bharatpur Metropolitan City is cutting its budget and investing it in reconstruction.

What you should know

चितवन — भवन छिर्ने गेटको देब्रेतर्फ भित्तामा छ सानो रातो स्टिकर । काम लिएर आउनेहरूले त्यता नजर लगाएको खासै देखिँदैन । उनीहरू गेटबाट भित्र छिर्नेबित्तिकै टेबल राखेर बसेका कर्मचारीतर्फ जान्छन् र आफूले लिन आएको सेवाका बारेमा सोधपुछ गर्छन् ।

त्यो रातो स्टिकरमा के लेखिएको छ त ? लेखिएको छ- ‘चेतावनी- यो संरचना वा संरचनाको उल्लेख गरिएअनुसार केही भाग गम्भीर रूपमा क्षतिग्रस्त र असुरक्षित छ । प्रवेश नगर्नुहोस् । प्रवेश गर्दा गम्भीर क्षति हुने वा चोटपटक लाग्न सक्छ ।’

यस्तो सूचना भरतपुर महानगरपालिकाको मुख्य प्रशासनिक भवनको मुलद्वार आडको भित्तामा टाँसिएको छ । ‘जेन-जी’ आन्दोलनका क्रममा सुरुकै दिन भदौ २३ गते दिउँसो भरतपुर महानगरपालिका कार्यालयअगाडि प्रदर्शन भएको थियो । भोलिपल्ट जिल्लाका अन्य धेरै सरकारी कार्यालय, पार्टीका कार्यालय, व्यक्तिका घर र व्यावसायिक प्रतिष्ठानसँगै भरतपुर महानगरपालिका कार्यालयमा पनि आगजनी भयो । आगजनीले महानगरको मुख्य भवनका साथै विभिन्न वडा कार्यालयहरूमा पनि क्षति भएको छ ।

क्षति भएका कार्यालय निर्माण र जलेका औजार–उपकरण, कम्प्युटर, प्रिन्टर, फर्निचरहरू फेरि खरिद गर्नुपर्ने भएपछि भरतपुर महानगरपालिकाले वडा स्तर र नगरस्तरका योजनाहरूको बजेट कटौती गरेको छ । ‘हामीले सबै २९ वटा वडाहरूबाट समान ३० लाख रुपैयाँका दरले बजेट कटौती गरेका छौं,’ भरतपुर महानगरपालिका कार्यालयका प्रमुख प्रशासनिक अधिकृत लक्ष्मीप्रसाद पौडेलले भने । वडा कार्यालयहरूबाट आठ करोड ७० लाख रुपैयाँ पुनर्निर्माणका लागि जुटाउने उनले बताए ।

Bharatpur Metropolitan City is cutting its budget and investing it in reconstruction.

त्यसैगरी नगरस्तरीय योजनाबाट कटौती गरेर आठ करोड ४० लाख रुपैयाँ जुटाउने योजना महानगरको छ । यसरी आन्तरिक रूपमा नै कुल १७ करोड ११ लाख १६ हजार रुपैयाँ महानगरको पुनर्निर्माणका लागि जुटाउने पौडेलले जानकारी दिए । नगरस्तरीय योजनामा पूर्वाधारतर्फ दुई करोड ३६ लाख रुपैयाँ, युवा–खेलकुदतर्फ २२ लाख ४० हजार रुपैयाँ, राजस्व–प्रशासनतर्फ १० लाख ७० हजार रुपैयाँ र पशुसेवातर्फ ८६ लाख रुपैयाँ बराबरका योजनाहरू कटौती भएका छन् ।

महानगरको सामान्य प्रशासन महाशाखाका प्रमुख शेषकान्त पौडेलले पर्यटन र उद्योगतर्फको २८ लाख रुपैयाँ, शिक्षाको ४४ लाख रुपैयाँ, रोजगार तथा सहकारीको नौ लाख रुपैयाँ, सेवा प्रवाह र प्रशासनतर्फको एक करोड ८७ लाख रुपैयाँ, वातावरण शाखाको ६८ लाख रुपैयाँ, सूचना प्रविधिको ११ लाख रुपैयाँ र सामाजिक शाखातर्फको तीन लाख रुपैयाँ कटौती भएको बताए । विपद्को साढे चार लाख रुपैयाँ, लक्षित वर्गको ५० लाख, स्वास्थ्यको २६ लाख र कृषिको ५८ लाख रुपैयाँ कटौती भएको छ ।

आगजनीमा महानगरपालिकाका तीनवटा भवन- प्रशासनिक कार्यालय, राजस्व तथा नक्सा रहेको भवन र प्राविधिक महाशाखा रहेको भवन जलेर पूर्ण क्षति भएका छन् । महानगरको मुख्य प्रशासनिक काम अहिले नगर प्रहरीका लागि बनाइएको भवनबाट भइरहेको छ । क्षतिग्रस्त भवनबाट पनि केही कामहरू गर्न परिरहेको छ । यसका साथै दमकल, ट्र्याक्टर–गाडीहरू पनि जलेका छन् । २९ वटा वडामध्ये वडा नं. ३, ६, १९ र २१ पनि प्रयोगमा ल्याउन नमिल्ने गरी क्षतिग्रस्त भएका छन् ।

‘त्यो बेला परेको मूल्यमा हिसाब गर्ने हो भने पनि महानगरको ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ । अब त्यसलाई अहिलेको मूल्यमा पुनर्निर्माण गर्दा वा खरिद गर्दा लाग्ने खर्च त झन् बढी हुन आउँछ,’ प्रमुख प्रशासनिक अधिकृत पौडेलले भने । महानगरको नयाँ प्रशासनिक भवन तयार हुँदैछ ।

आउँदो वर्षभित्रै नयाँ भवन प्रयोग गर्न मिल्ने भएकाले नयाँ भवन बनाउनुपर्ने आवश्यकता छैन । तर वडा कार्यालय भवन र दैनिक प्रशासन चलाउन आवश्यक पर्ने यन्त्र, उपकरण, फर्निचरका लागि स्रोत जुटाउनुपर्ने भएकाले बजेट कटौती गरेको पौडेलले बताए । ‘तालिम, गोष्ठी, सेमिनार, सचेतना जस्ता कार्यक्रम र पछि पनि गर्न सकिने विकास निर्माणका योजनाहरूको बजेट कटौती भएको हुँदा महानगरका समग्र योजनामा तात्त्विक असर नपर्ने अवस्था छ,’ प्रमुख प्रशासनिक अधिकृत पौडेलले भने ।

महानगरमा अलि कम विकास भएको पहाडी भेग पर्ने वडा हो- वडा नं. २९ । सो वडाका वडाध्यक्ष सूर्यबहादुर गुरुङले पशुसेवातर्फको बजेट कटौतीले पहाडी क्षेत्रमा असर पर्ने हो कि भन्ने लागेको बताए । ‘हाम्रो पहाडी भेगमा त बाख्रा टन्नै छन् । भ्याक्सिनलगायतका सेवा नपाए असर पर्ला कि भन्ने छ । त्यही पनि पछि बजेट खोजेर व्यवस्था गरौँला भन्ने कुरा भएको छ,’ २९ नं. वडाध्यक्ष गुरुङले भने । उनले क्षतिग्रस्त कार्यालय निर्माणमा बजेट जुटाउनु राम्रै हो भन्ने धारणा राखे ।

पर्यटनतर्फको बजेट कटौतीले नयाँ नौलो क्षेत्रको पर्यटन प्रवर्द्धन कार्यक्रममा असर पर्ने हो कि भन्ने लागेको भरतपुरको पश्चिम क्षेत्रमा पर्ने चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले बताए । ‘यता नयाँ–नौला पर्यटकीय गन्तव्यमा पूर्वाधार बनाउने र प्रवर्द्धनका काम धमाधम भइरहेका छन् । वडा र महानगरको र प्रदेशको पनि सहयोग छ । वडाले दिने तीन लाख रुपैयाँ कटौती भयो भन्ने सुनेको छु । यसले पर्यटन क्षेत्रमा असर त पर्ने नै भयो,’ उनले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully