भोटेकोशी गाउँपालिका–३ जोमखोलास्थित अन्तर्राष्ट्रिय सिमाना पिलर नम्बर ५४(२) मा तातोपानी माध्यमिक विद्यालय र गुप्तेश्वरी आधारभूत विद्यालयका करिब एक सय विद्यार्थीले सेतो रंगले रंगरोगन गरेका हुन् ।
What you should know
सिन्धुपाल्चोक — नेपाल र तिब्बतबीचको ऐतिहासिक व्यापारिक र सांस्कृतिक सम्बन्धलाई झल्काउने भोटेकोशी क्षेत्रका पुराना सिमाना स्तम्भहरू अहिले बिर्संदै जाँदैछन् ।
तर शुक्रबार सिमाक्षेत्रका बालबालिकाले ती पुराना पिलरहरूलाई पुनः स्मरण गराउँदै रंग्याए र त्यहाँ पुगेर राष्ट्रिय झण्डा फह्रराए ।
भोटेकोशी गाउँपालिका–३ जोमखोलास्थित अन्तर्राष्ट्रिय सिमाना पिलर नम्बर ५४(२) मा तातोपानी माध्यमिक विद्यालय र गुप्तेश्वरी आधारभूत विद्यालयका करिब एक सय विद्यार्थीले सेतो रंगले रंगरोगन गरेका हुन् ।
बालबालिकालाई शिक्षक, जनप्रतिनिधि, सुरक्षाकर्मीले स्तम्भमा रंग लगाउन सघाए र पुरानो व्यापारिक मार्गको झाडि फाडेर सरसफाइ गरे । कार्यक्रममा सशस्त्र सीमा सुरक्षा बल तातोपानी, इलाका प्रहरी कार्यालय कोदारी, भोटेकोशी गाउँपालिका–३ र २ का जनप्रतिनिधि, शिक्षक तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
गाउँपालिका–३ का अध्यक्ष निमा सोना शेर्पाका अनुसार नयाँ पुस्तालाई अन्तर्राष्ट्रिय सिमाना र पिलरहरूको महत्त्वबारे जानकारी दिन उक्त अवलोकन भ्रमण आयोजना गरिएको हो ।
‘यो भ्रमणमार्फत हामीले नेपाल–तिब्बतको युद्ध, पुराना नाका र व्यापारिक इतिहासबारे बालबालिकालाई स्थलगत जानकारी गरायौं,’ शेर्पाले भने । सिमाक्षेत्रको कठिन भू–भाग हुँदै बालबालिकाले करिब तीन घण्टा पैदल यात्रा गरेर पिलरसम्म पुगेका थिए । आवागमन गरेर फर्किन करिब ६ घण्टा समय लागेको थियो ।
‘आफ्नो देशको सीमा स्तम्भ र इतिहासबारे थाहा पाउँदा साह्रै खुशी लाग्यो,’ तातोपानी माविमा कक्षा ८ मा अध्ययनरत सविना शेर्पाले भनिन् । तातोपानी आविका शिक्षक कृष्ण नेपालले बालबालिका यस भ्रमणले रमाएको र उत्साहित भएको बताए ।
लिपिङबाट झन्डै ११ किलोमिटर टाढा रहेको उक्त सिमाना स्तम्भमध्ये पिलर नं. ५४(२) नेपालतर्फ र ५४(१) चीनतर्फ अवस्थित छन्। कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले रु. १५ हजार खर्च गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
भ्रमणका क्रममा सहभागीहरूले सिमानाको भौगोलिक स्थिति, स्तम्भहरूको संरक्षण र सिमाना सुरक्षामा स्थानीय तहको भूमिकाबारे प्रत्यक्ष अध्ययन गरेका थिए ।
