रामपृत २०२७ सालमा चितवन आएका थिए । चितवन निकुञ्जमा मात्रै २७ वर्ष काम गरे ।
What you should know
चितवन — रामपृत यादव युवा अवस्थमा चितवन आएका थिए । सिराहामा जन्मेर यहाँ आएका उनको जिम्मेवारी थियो– चितवन निकुञ्जको साँध सिमाना निर्धारण गर्नु । रेन्जर बनेर आएका यादव चितवन निकुञ्जसहित अन्य केही निकुञ्ज आरक्षको प्रमुख भएर जागिरे जीवनबाट अवकाश पाए । तर अवकाशपछि न उनले संरक्षणको अभिभारा छाडे, न चितवन नै । बुढौलीमा पनि संरक्षणमै सक्रिय रहेका यादवले ८३ वर्षको उमेरमा शनिबार चितवन भरतपुरमै अन्तिम स्वास लिए ।
यादवका भदाहा दीपक कुमालले दिएको जानकारी अनुसार यादवलाई अघिल्लो आइतबार उपचारका लागि भरतपुरको बीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । शनिबार उनको सोही अस्पतालमा निधन भयो ।
सन् १९४२ को डिसेम्बरमा सिराहाको बरिहायरपट्टीमा जन्मेका यादव चितवन निकुञ्ज स्थापना हुनुभन्दा तीन वर्षअघि यहाँ आएका थिए । अवकाश पाएर पनि उनलाई चितवन नै प्यारो लाग्यो ।
‘मलाई चितवन प्यारो लाग्छ । यहाँ वन जंगल छ, जंगलमा जनावर छन् । लामो समय वन र वन्यजन्तु भनेरै बसियो । त्यसैले चितवन छाडेर जानु भनेको यीबाट टाढा हुनु झै लाग्छ,’ हालै भएको एक भेटमा यादवले भनेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ सालमा जारी भएको थियो । त्यसपछि चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको औपचारिक घोषणा २०३० सालको असोज ४ मा भएको मो । रामपृत र अन्य व्यक्ति यसभन्दा पहिलेबाटै फिल्डमा खटेका थिए ।
रामपृत २०२७ सालमा चितवन आएका थिए । यादवसहित विश्वनाथ उप्रेती, कर्ण शाक्य र एक जना बेलायती नागरिक जोन ब्लोअरको टोली चितवन झरेको थियो । चितवन आउनुभन्दा पहिला यादव हेटौंडा वन कार्यालयमा रेन्जर थिए । यी चार जनाले सौराहा राप्ती किनारमा पाल गाडेर क्याम्प बनाए । साँध सिमाना नाप्ने र खोज्ने काम गरे ।
रामपृतले चितवन निकुञ्जमा मात्रै २७ वर्ष काम गरे । चितवनमा रेञ्जरबाट सहायक संरक्षण अधिकृत र पछि प्रमुख संरक्षण अधिकृत भए । प्रमुख संरक्षण अधिकृत भएर २०४६ सालमा उनी बर्दिया राष्ट्रिय निकुञ्जमा सरुवा भएका थिए ।
जागिरे जीवनका ६ वर्षजति मात्रै उनले चितवनबाहिर बिताए । लामो समय चितवनमै बसे । २०५७ सालमा अवकाश हुँदा उनी पर्सा निकुञ्ज (त्यतिबेला वन्यजन्तु आरक्ष)को प्रमुख संरक्षण अधिकृत थिए । अहिले भरतपुरको कृष्णपुरमा बसोबास थियो । सरकारी संरक्षण अभियानका सुरुवाती दिन सजिला थिएनन् । सुख सुविधाबिनै खोलाको पानी खाएरै सीमाको काम गरेको यादव सुनाउँथे ।
निकुञ्जका अधिकारीहरूलाई पोसाक पनि थिएन । राजा वीरेन्द्रलाई बिन्ती बिसाएपछि २०४४ सालपछि पोसाकको सुविधा पाएको उनले बताएका थिए । निकुञ्ज स्थापनाप्रति जनता पनि सुरुवातमा सकारात्मक थिएनन् । निकुञ्जले ओगटेको वन क्षेत्र चार जिल्लाका बासिन्दाको गाईबस्तु चराउने, घाँस दाउरा गर्ने ठाउँ थियो । बाघ र गैंडा किन जोगाउने भन्ने चेतना पनि सबैमा थिएन । जंगल खुला थियो । दक्षिणको माडीका गाई बस्तु लामो दूरी पार गरेर पूर्वको टाँडीसम्म आउने गरेको सम्झना यादवले गरेका थिए ।
चरिचरण र वनपैदावरको स्रोतमा कडाइ गर्न थालेपछि स्थानीयहरू रुष्ट हुने नै भएन । ‘तर हामीले कुरा बुझाउन प्रधानपञ्चहरू, स्थानीयहरूको भेला राख्न थाल्यौं । निकुञ्जका र यहाँका बाघ गैंडाको महत्त्वका बारेमा जानकारी दिन थाल्यौं । महत्त्व बुझाउन थालेपछि कुरा बुझ्दै गए,’ रामपृतले सुनाएका थिए ।
कोषमा पाँच वर्ष काम गरेपछि उनी विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)को कार्यक्रमसँग आबद्ध भए । डब्लुडब्लुएफको ताल परियोजनामा संरक्षण परामर्श दाताका रूपमा उनको सक्रियता जीवनको अन्तिमसम्म नै रह्यो । अफिसमा बसेर हैन गाउँ गाउँ पुगेर समुदायका हरेकलाई संरक्षणमा सचेत र जागरुक बनाउन उनले ताल परियोजनालाई समय दिए । एउटा पुरानो साधरण मोटरसाइकल चढेर उनी संरक्षणका कुरा गर्न वृद्ध उमेरमा पनि गाउँ गाउँ पुग्थे ।
सामुदायिक वनका पदाधारीकारी र सदस्य तथा उपभोक्ताहरूलाई बाघ, गैंडा संरक्षण र वन जोगाउने विषयका बारेमा सचेतना दिन उनी कहिल्यै पछि परेनन् । उनले यसैमा आनन्द माने । जागिरे जीवनमा वन्यजन्तुसँग अनेकौं पटक जम्काभेट भयो । तर वन्यजन्तुले उनलाई केही गरेनन् । जनावरले त्यसै कसैलाई आक्रमण नगर्ने स्वभाव हुन्छ । त्यस्तो स्वभाव बुझाउन सके र स्थानीयले त्यहीअनुरूपको व्यवहार गरे वन्यजन्तु आक्रमणको घटना हुँदैन भन्ने ज्ञान यादवले समुदायलाई सुनाउँदै हिँडे ।
यादवले निकुञ्जको साँध सिमाना कोर्ने काममा व्यस्त रहेका बेला राजा महेन्द्रलाई टाढाबाट देखेका थिए । एक–दुई दिनभित्र राजा भेट्न आउने खबर आएको थियो तर त्यसभन्दा पहिल्यै राजा महेन्द्रको भरतपुर दियालो बंगला दरबारमा निधन भयो भन्ने खबर आयो । पछि राजा बीरेन्द्र र तत्कालीन अधिराजकुमार र पछि राजा भएका ज्ञानेन्द्रसँग पनि उनको निकटता रह्यो । तर दरबारको निकटतालाई उनले आफ्नो व्यक्तिगत सुख समृद्धिसँग कहिल्यै जोड्नन् । जंगली जनावरको संरक्षण र चितवनलाई जीवनको अन्तिम क्षणसम्म पनि छोडेनन् ।
