बनेपामा सुरु भयो, १२ वर्षे नरदेवी श्वेतकालीको नाच

देवीनाचको स्थानीय व्यवस्थापनको जिम्मा बनेपा नगरपालिकाले लिएको छ भने नाचको सम्पूर्ण खर्च नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजले गर्दै आएको छ ।

कार्तिक २०, २०८२

ज्योती श्रेष्ठ

Dance of 12-year-old Naradevi Shwetakali begins in Banepa

What you should know

काभ्रे — जिल्लाको बनेपामा नरदेवी श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच सुरु भएको छ । बिहीबारबाट सुरु भएको देवीनाच तीन दिनसम्म बनेपाको लायकु डबलीमा हुनेछ । भक्तपुरबाट विधिवत् रूपमा देवीको प्रतिमा ल्याएर उनीहरूलाई बनेपाको पुलबजारमा स्वागत गरिएको हो ।

बिहीबार साँझ ७ बजेदेखि राती १२ बजेसम्म पहिलो चरणको देवीनाच आयोजना हुनेछ । दोस्रो दिन शुक्रबार बिहान ७ बजे नै करुणामय (सुथःमाजु)को विधिवत् नाच सुरु भएसँगै दोस्रो चरणको देवीनाच आरम्भ हुनेछ । दोस्रो दिन साँझ ८ बजेसम्म देवीनाच सञ्चालन हुनेछ । अन्तिम दिन शनिबार लायकु डबली तथा आखाःमा विधिवत् पूजा सम्पन्न भएपछि देवीलाई काठमाडौं नरदेवीस्थित देवीको द्यःछेंमा भित्र्याइने कार्यक्रम रहेको बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिए ।

नरदेवीको स्थापना गुणकादेवको पालामा भएको र देवीनाचको सुरुवात अमर मल्लको पालामा सुरु भएको मानिन्छ । नरदेवीबाट सुरु हुने देवी नाच १२ वर्षभित्रमा १२ ठाउँमा आयोजना गरेर सम्पन्न गर्ने प्रचलन रहँदै आएको छ ।

श्वेतकालीको धार्मिक परम्पराअनुसार प्रत्येक वर्ष पिशाच चतुर्दशी, पाहाँचहेका दिन नरदेवी डबलीमा श्वेतकाली देवीनाच सञ्चालन हुँदै आएको छ भने प्रत्येक बाह्र–बाह्र वर्षमा १२ वर्षे देवीनाच पर्वअन्तर्गत नरदेवीस्थित देवीको डबलीका साथै हनुमानढोका दरवारस्थित तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक र कालभैरव पछाडिको डबली, थाना अगाडिको डबली र ललितपुर, कीर्तिपुर, भक्तपुर दरवार क्षेत्रका प्राचीन डबलीहरुका साथै बनेपाको लायकु डबलीमा १२ वर्षे देवीनाच पर्व सञ्चालन गरिने परम्परा रहेको छ । 

देवीनाचको स्थानीय व्यवस्थापनको जिम्मा बनेपा नगरपालिकाले लिएको छ भने नाचको सम्पूर्ण खर्च नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजले नै गर्ने स्थानीय व्यवस्थापन समिति संयोजक तथा बनेपा-८ की वडाध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिइन् ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully