खेतका फाँटमा व्यस्त किसान, तर छैन अनुहारमा खुसी

कात्तिक १२ देखि १५ गतेसम्म परेको लगातार बेमौसमी वर्षाले भटौली फाँटका धेरै किसानको काटिसकेको धान निहिनमै डुबायो।

कार्तिक १८, २०८२

नवराज श्रेष्ठ

Farmers are busy in the fields, but there is no joy on their faces.

रामेछाप — मन्थली नगरपालिका–७, भटौली फाँटका किसान अहिले निहिनमै उम्रिएको धान भित्र्याउन व्यस्त छन्। जिल्लाकै उर्वर मानिने यो फाँटमा खेतभरि धान झार्ने, बोक्ने र थन्क्याउने काममा किसानहरू व्यस्त देखिन्छन्। तर, काममा व्यस्त देखिए पनि किसानको अनुहारमा खुसी छैन ।

सबै चिन्तित र मलिन छन्। कात्तिक १२ देखि १५ गतेसम्म परेको लगातार बेमौसमी वर्षाले भटौली फाँटका धेरै किसानको काटिसकेको धान निहिनमै डुबायो। चार दिनको लगातार पानीले धान र पराल दुवै बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका छन्। स्थानीय कृषक रामबहादुर खत्री भन्छन्, 'यस्तो कहिले भएको थाहा छैन। पहिला पानी परे पनि एक दिन वा अलिकति मात्र हुन्थ्यो, तर यो पटक त लगातार झरी पर्‍यो । ३०–४० मुरी धान फल्ने खेतको सबै धान र पराल दुवै काम नलाग्ने भए।' 

भटौलीकै अर्की कृषक देवकी भुजेल पनि त्यस्तै पीडामा छन्। उनका अनुसार, यो वर्ष धान राम्रो फलेको थियो र चाँडै पाकेकाले कटाई सुरु गरिएको थियो। तर, त्यसको भोलिपल्टदेखि परेको वर्षाले सबै मेहनत खेर गयो। उनी भन्छिन्, 'धान सबै भिजेर टुसा पलायो, अब यो चामल खान मिल्दैन। पशुका लागि ढुटो बनाउन मात्रै थन्क्याउनुपरेको छ।'

धान काट्ने दिनसम्म चर्को घाम थियो । किसानहरू ढुक्क थिए। तर, असामयिक वर्षाले भटौली फाँटका धेरै खेतमा लगाइएको धान पूर्ण रूपमा नष्ट भएको छ।

बेमौसमी वर्षाले मन्थली नगरपालिका–७, भटौली फाँटसहित ८७ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धान बाली नष्ट भएको छ। कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालका अनुसार सो क्षेत्रफलमा गरिएको धान खेतीबाट किसानलाई ६० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ। वर्षाका कारण करिब १३९ मेट्रिक टन धान बाली नष्ट भएको प्रारम्भिक विवरण कार्यालयले सङ्कलन गरेको छ।

Farmers are busy in the fields, but there is no joy on their faces.

सबैभन्दा बढी क्षति खाँडादेवी गाउँपालिकामा भएको छ । जहाँ ६२ हेक्टर क्षेत्रफलमा ११४ मेट्रिक टन धान नष्ट भई किसानले ३५ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेका छन्। त्यसै गरी लिखुतामाकोशी गाउँपालिकामा करिब २५ हेक्टरमा २७ लाख रुपैयाँ बराबरको क्षति भएको कार्यालयले जनाएको छ।

सुनापति गाउँपालिकामा भने धान बाली क्षति भएको छैन, तर बाँकी दुई नगरपालिका र तीन गाउँपालिकामा गरी ३० हेक्टर क्षेत्रफलमा धान बाली नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।प्रमुख दाहालका अनुसार, क्षतिको विस्तृत विवरण कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशमा पठाउने तयारी भइरहेको छ। प्रदेश सरकारले किसानलाई राहत स्वरूप २० हेक्टर बराबरमा ३० हजार रुपैयाँका दरले बाली क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए । 

'अहिले धान बाली क्षतिग्रस्त भएका कृषकको पहिचान भइरहेको छ। प्रदेश सरकारले दिने राहत रकम छिटोभन्दा छिटो उपलब्ध गराउने तयारी कृषि विकास कार्यालय रामेछापले गरिरहेको छ,' प्रमुख दाहालले भने ।

रामेछापमा ८ हजार ६१५ हेक्टर क्षेत्रफल धान खेतीयोग्य जमिन रहेको छ । जसको ९५ प्रतिशत खेतमा यस वर्ष रोपाइँ सम्पन्न भएको थियो। जिल्लामा धानको औसत उत्पादकत्व प्रतिहेक्टर २ दशमलव १७ मेट्रिक टन रहेको कृषि विकास कार्यालयको तथ्याङ्क छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully