चितवन अदालतमा जेनतेन सेवा

नियमित सेवा सुरु गरेको घोषणा गरे पनि इजलास कक्षदेखि कम्युटर र फर्निचरकै समस्याका बीच अदालतको काम भइरहेको छ ।

कार्तिक १६, २०८२

रमेशकुमार पौडेल

Zenten Service at Chitwan Court

चितवन — भदौ २४ मा प्रदर्शनकारीको आगजनीबाट क्षतिग्रस्त चितवन जिल्ला अदालतले एक सातापछि भदौ ३० बाट आंशिक सेवा सुरु गरेको थियो । नियमित सेवा सुरु गरेको घोषणा गरे पनि अदालतमा अनेकौं समस्या छन् ।

इजलास कक्षदेखि कम्युटर र फर्निचरकै समस्याका बीच अदालतको काम भइरहेको छ । आगजनीका कारण मुद्दाका मिसिल र दस्ताबेजसमेत नष्ट भएका छन् ।

‘आगजनी हुँदा चाुल मुद्दाका सद्दे रहेका ६७० थान मिसिल रहेछन् । ती मिसिलका निवेदकलाई ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी भएको छ । हामीले कात्तिक ११ गतेबाट अदालतको नियमित सेवा सुरु भएको भनेका छौं,’ अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले भने ।

अदालतमा आठ वटा फाँट छन् । तीमध्ये फाँट नम्बर ५, ६ र ७ का केही मिसिल जोगिएका छन् । चितवन अदालतमा आठ वटा इजलास थिए । अहिले काम गर्न मिल्ने अवस्थाका चार र टहरोमा एउटा गरी पाँच वटा इजलास तयार गरेर काम भइरहेको छ ।

प्रदर्शनकारीले गरेको आगजनीका कारण अदालतमा भवन, फर्निचर, कम्प्युटर, गाडीहरुसमेत गरेर अनुमानित ६ करोड ४९ लाख रुपैयाँ बराबरको क्षति भएको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए । ‘सेवा सुरु भए पनि समस्याहरु अनेकौं छन् । फर्निचर, कम्प्युटरलगायतका असुविधाका बीचबाटै काम सुरु भएको छ,’ उनले भने । अदालतमा पहिला ५७ थान कम्प्युटर, प्रिन्टर ३१ थान र १४ वटा स्क्यानर थिए । आगजनीका क्रममा लगभग सबै कम्प्युटर, प्रिन्टर, स्क्यानर प्रयोग गर्न नमिल्ने गरेर जले ।

अहिले जेनतेन १३ वटा कम्प्युटर, तीन प्रिन्टर र एउटा स्क्यानरबाट काम चलाइरहेको सूचना अधिकारी अमृत विश्वकर्माले बताए । नयाँ मुद्दा दर्ता र अन्य प्रक्रिया सुरु भएको छ । तर कार्यालयको अवस्था जोखिमपूर्ण नै छ । सबै झ्यालढोका राम्रोसँग बन्द गर्न मिल्ने खालका पनि छैनन् ।

अदालतमा प्रहरी र अदालतका कर्मचारी पनि सुरक्षाका लागि खट्ने गरेका छन् । ‘रंगरोगन मर्मत गरेर जेततेन इजलासहरु तयार भएका छन् । धेरै कुरा काम चलाउ जस्तै छन् । बिजुलीको वायरिङ दुरुस्त हुन सकेको छैन । कम्प्युटर, प्रिन्टरहरु थोरै भए पनि जुटायौं । तर बत्ती गए काम गर्न सकिने जेनेरेटर या अन्य पावर ब्याकप छैन । फर्निचरहरु पनि कामचलाउ छन्,’ सूचना अधिकारी विश्वकर्माले भने । 

आगजनी भएपछि अदालतले सबैभन्दा पहिला भदौ ३० गतेबाट बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि कारवाही, म्याद थप, जरुरी पक्राउ पुर्जी र सिडिआर सेवा सुरु गरेको थियो । त्यसपछि असोज २३ र असोज २६ गतेदेखि थप केही सेवा सुरु भए । कात्तिक ११ गतेदेखि नियमित सेवा सुरु भएको अदालतको सूचना छ । तर साविकको रफ्तारमा सेवा सुरु हुने सम्भावना तत्काललाई देखिदैन ।

पहिला आठ वटा इजलासमा हरेक इजलासमा कम्तीमा एक/एक पेशी हुन्थे । अहिले दिनमा दुई/चार वटा पेशी पनि चढ्न सकेको छैन । अदालतमा सुरक्षाका लागि प्रहरी नायब निरीक्षक (सई)को कमाण्डमा प्रहरी रहने गरेको छ । अदालतबाट पनि रेखदेखका लागि रातको समयमा पनि कर्मचारी खटाएको विश्वकर्माले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully