विद्युत् सट भएर आगलागी हुँदा एक घर जलेर नष्ट

आगलागीबाट करिब २८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ।

कार्तिक १६, २०८२

नवराज श्रेष्ठ

A house was destroyed in a fire caused by an electrical short circuit.

रामेछाप — रामेछाप नगरपालिका–३ साघुँटार लक्ष्मीबासस्थित ठेटबहादुर महतको घरमा गएराति आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।

फ्रिजमा जोडिएको विद्युत् लाइन सट भई आगलागी हुँदा भूकम्पपछि पुनर्निर्माण गरिएको जस्ताको छानो भएको तीन कोठे घरसहित सबै सामान पूर्ण रूपमा नष्ट भएको छिमेकी सूर्य महतले बताए।

उनका अनुसार गएराति करिब १० बजे आगलागी सुरु भएको र स्थानीयले राति साढे १२ बजे नियन्त्रणमा लिएका थिए। आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, समूहको सामग्रीसहित सबै सम्पत्ति खरानी भएको छ।  आगलागीबाट करिब २८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार क्षतिको यकिन विवरण संकलन कार्य भइरहेको छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully