राजनीतिक उद्देश्य पूरा गर्न मात्र बजेट बनाउने परिपाटी अन्त्य हुनुपर्छ : मुख्यमन्त्री

मुख्यमन्त्री बानियाँले प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुने बताए ।

कार्तिक १५, २०८२

प्रताप विष्ट

हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिक उद्देश्य परिपूर्ति गर्न मात्र बजेट बनाउने पुरानो परिपाटी अन्त्य हुनुपर्ने बताएका छन् । नागरिक र प्रदेश दुवैको आम्दानी बढाउने बजेट बनाउनुपर्ने उनको तर्क थियो ।

हेटौंडामा शनिबार आयोजित ‘वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा’ विषयक एक दिवसीय अन्तरक्रियात्मक गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुने बताए । अबको बजेटले रोजगारी सिर्जना र आर्थिक उत्पादनशीलता वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । 

मुख्यमन्त्री बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुक सञ्चालनका लागि दलहरुले आत्मसमीक्षा गर्नुपर्ने र साझा तथा एकल अधिकारको विषयमा अल्झिन नहुने बताए ।  संघीयताको सफल कार्यान्वयनका लागि वित्तीय पक्ष सुदृढ र पारदर्शी हुनुपर्नेमा बताउँदै उनले भने,‘प्रदेशको आर्थिक क्षमता अभिवृद्धि र आन्तरिक स्रोत परिचालनका लागि सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक छ ।’

कार्यक्रममा सातै प्रदेशको आन्तरिक राजस्व प्रवृत्ति विश्लेषण प्रतिवेदन सार्वजनिक गरिएको थियो । त्यस अवसरमा फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टर अध्यक्ष डा. खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङको अध्यक्षतामा संचालित कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की, कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, सातै प्रदेशका अर्थ मन्त्रालयका सचिव, आयोग तथा निकायका महाशाखा प्रमुख र प्रदेश लेखा नियन्त्रकहरुको उपस्थिति थियो ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully