यातायात क्षेत्र सुधार गर्न बागमतीमा उच्चस्तरीय समिति गठन

शुक्रबारको मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालयको प्रस्तावमा बागमती प्रदेश यातायात क्षेत्र पुनरावलोकन तथा सुधार उच्चस्तरीय समिति कार्य क्षेत्रगत शर्त स्वीकृति एवम् समिति गठन गर्ने निर्णय गरेको हो ।

कार्तिक १४, २०८२

सुवास विडारी

High-level committee formed in Bagmati to improve transport sector

मकवानपुर — बागमती प्रदेश सरकारले यातायात क्षेत्रको पुनरावलोकन र सुधारका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालयको प्रस्तावमा बागमती प्रदेश यातायात क्षेत्र पुनरावलोकन तथा सुधार उच्चस्तरीय समिति कार्य क्षेत्रगत शर्त स्वीकृति एवम् समिति गठन गर्ने निर्णय गरेको हो ।

प्रदेशको यातायात क्षेत्रमा व्यापक समस्या देखिएपछि त्यसलाई सुधार गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अग्रसरतामा समिति गठन गरिएको हो । ‘यातायात क्षेत्र हाम्रो प्रदेशको सबैभन्दा बढी राजस्व आम्दानी हुने क्षेत्र हो । देशभरको करिब ६० प्रतिशत सवारी यस प्रदेशमा रहेका छन् । त्यसलाई व्यवस्थित गर्न हामीले उच्चस्तरीय समिति बनाउने भएका हौं । समितिको प्रतिवेदनका आधारमा हामी अगाडि बढ्नेछौं ।’

मुख्यमन्त्री बानियाँका अनुसार यातायात क्षेत्रबाट वार्षिक १४ अर्ब रुपैयाँ राजस्व संकलन हुने गरेको छ । उनका अनुसार हरेक पटक ट्रायल सेन्टर खोल्दा, लाइसेन्स वितरण गर्दा र रुटपरमिट वितरण गर्दा विवाद हुने देखिएपछि उच्चस्तरीय समिति निर्माण गरिएको हो । ‘यो समितिको प्रतिवेदन कार्यान्वयन गरेपछि पक्कै पनि यातायात क्षेत्रमा देखिएको समस्या समाधान हुनेछ,’ उनले भने ।

मन्त्रिपरिषद्को बैठकले जेन-जी आन्दोलनका कारण यातायातको राजस्व संकलनमा समस्या परेको कारण जरिवानामा छुटको समेत व्यवस्था गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully