आकस्मिक बाढी र हिमपातको जोखिम, सतर्क रहन प्रशासनको आग्रह

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला कार्यालयलाई राहत तथा उद्धार तयारी अवस्थामा राख्न पनि अनुरोध गरेका छन्।

कार्तिक १३, २०८२

नवराज श्रेष्ठ

Administration urges caution amid risk of flash floods and snowfall

रामेछाप — बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभावले आगामी तीन दिनसम्म रामेछाप पनि प्रभावित हुने पूर्वानुमान रहेको भन्दै सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विशेष बुलेटिनमा रामेछापका स–साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको उल्लेख छ।

बिहीबार एक सूचना जारी गर्दै नदी तटीय बस्ती, पहिरो जोखिम क्षेत्र र विपन्न बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले विशेष आग्रह गरेको हो।

आगामी कार्तिक १५ गतेसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले नदी किनार, खोला तथा पहाडी क्षेत्रका नागरिकले जोखिम न्यूनीकरणका उपाय अपनाउनुपर्ने प्रशासनको सूचनामा उल्लेख छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला कार्यालयलाई राहत तथा उद्धार तयारी अवस्थामा राख्न पनि अनुरोध गरेका छन्।

विशेष गरी नदी तटीय क्षेत्रमा बसोबास गर्ने, पहिरोको जोखिम क्षेत्रमा बसोबास गर्ने लगायतका आमनागरिकलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेकाले त्यहाँका बासिन्दालाई सावधानीपूर्वक रहन अनुरोध गरिएको छ। गत सोमबार दिउँसोबाट मौसम बदली भएको रामेछापमा मंगलबार खासै वर्षा नभए पनि बुधबार साँझदेखि बिहीबार राति अबेरसम्मै वर्षा जारी छ ।

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully