फरार हुनेमा सबैभन्दा धेरै गैंडा मुद्दामा कारागार बसेकाहरु छन् । गैंडा मुद्दाका १६ जना, सालकको खपटा ओसार पसार गर्ने मुद्दाका सातजना, रेडपाण्डाका तीनजना, हिउँ चितुवा र कस्तुरी मृगका दुई दुईजना फरार भएका छन् ।
What you should know
चितवन — वन्यजन्तु अपराधमा देशका विभिन्न कारागारमा रहेकामध्ये कम्तिमा ३८ कैदी बन्दी फरार भएका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारमा तोडफोड प्रदर्शन गर्दै कैदी बन्दीहरु फरार भएका थिए ।
तिमध्ये धेरै कैदी बन्दीहरु सरकारको निर्देशनपछि आफै कारागार फर्किए पनि फरार हुनेको संख्या पनि अत्याधिक छ । वन्यजन्तु अपराधमा कारागारबाट फरार हुनेहरुमा तीनजना भारतीय पनि रहेको कारागार व्यवस्था विभागले असोज ३० मा जारी गरेको विवरणमा समावेश छ ।
फरार हुनेमा सबैभन्दा धेरै गैंडा मुद्दामा कारागार बसेकाहरु छन् । गैंडा मुद्दाका १६ जना, सालकको खपटा ओसार पसार गर्ने मुद्दाका सातजना, रेडपाण्डाका तीनजना, हिउँ चितुवा र कस्तुरी मृगका दुई दुईजना फरार भएका छन् ।
चितुवा र ध्वाँसे चितुवाको छाला तथा ज्यूँदो कछुवा बिक्री गरेको मुद्दामा कारागारमा रहेका एक एकजना फरार भएका छन् । वन्यजन्तु अपराध उल्लेख गरेर अन्य विवरण नखुलाइएका चारजना र अखेटोपहार ओसार पसार तथा बिक्री मुद्दाका थप एकजना पनि कारागारबाट फरार भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
वन्यजन्तु अपराधमा सबैभन्दा धेरै भरतपुर कारागारका फरार छन् । चितवन भरतपुरको कारागारबाट गैंडा मुद्दाका १२ जना, सालकको खपटा ओसार पसार तथा बिक्री मुद्दाका चारजना र हिउँ चितुवाको छाला मुद्दाका दुईजना गरी वन्यजन्तु अपराधसँग सम्बन्धित मुद्दाका कुल १८ जना कैदी बन्दी फरार भएका छन् ।
त्यसपछि जगन्नाथदेवल अर्थात काठमाडौंको केन्द्रीय सुधारगृहबाट गैंडाका चारजना, सालकका तीनजना, कस्तुरीमृगका दुईजना कैदी फरार भएका छन् ।
जगन्नाथदेवलबाट रेडपाण्डाको र ध्वाँसे चितुवाको छाला ओसार पसारमा मुद्दा परेका दुई दुईजना पनि फरार भएका छन् ।
दुर्लभ वन्यजन्तुको अंग अखेटोपहार ओसारपसार तथा बिक्री मुद्दाकाका एकजना पनि त्यहाँबाट फरार छन् । ज्यूँदो कछुवा बिक्री गर्दा पक्राउ परेर जगन्नाथदेवलमा रहेका एकजना भारतीय नागरिक पनि जेनजी आन्दोलनको मौका पारेर फरार भए ।
यसरी जगन्नाथदेवलबाट फरार हुने १५ जना छन् । नख्खु कारागारबाट वन्यजन्तु अपराधमा एक भारतीयसहित दुईजना र कैलाली कारागारबाट पनि वन्यजन्तु अपराधका एकजना भारतीय फरार रहेको विवरण कारागार व्यवस्था विभागले सार्वजनिक गरेको छ ।
त्यसै गरी रौतहटबाट रेडपण्डाका एकजना र झुम्का कारागारबाट वन्यजन्तु अपराधका एकजना फरार भए । स्थानीय प्रशासन र कारागार व्यवस्था विभागको निर्देशनपछि पनि नफर्केका कैदी र थुनुवाहरुका कारण संरक्षण क्षेत्रमा चुनौती थएिको छ ।
दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा र अर्को संरक्षित जीव सालक लगायत अन्य वन्यजीव जनावरको सिकार गर्ने तथा यी जीवहरुको अंगको कारोबार गरेको मुद्दामा कारागार बसेकाहरु नै फरार भएपछि यी जीवको सिकार तथा तस्करी हुने जोखिम बढेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले देशभरबाट भागेका वन्यजन्तु अपराधस“ग सम्बन्धित कैदी र थुनुवाहरुको एकीन विवरण र परिचय संकलन गरि रहेको विभागका प्रवक्ता तथा उपमहानिर्देशक वेदकुमार ढकालले बताए ।
‘स्थानीय ईकाइहरु निकुञ्ज प्रशासनका साथै जिल्ला प्रशासन र प्रहरीले पनि काम गरिरहेका छन् । सबै मूल्याकंन गरेर विभाग स्तरमा पनि हामी केही योजना बनाउँदै छौं,’ ढकालले भने । उनले विभाग अन्तर्गत केन्द्रमा रहेको वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो (डब्लुसीसी)को बैठक छिट्टै राख्ने र त्यसमा यो विषयमा छलफल हुने उनले बताए ।
यो ब्यूरोमा सेना, प्रहरी, सशस्त्र प्रहरी र भन्सारसम्मका प्रतिनिधि छन् । ‘फरार भएकाहरुलाई सबैलाई समाउने बारेमा अब बस्ने बैठकमा छलफल र निर्णय हुन्छ’ ढकालले भने । तीन या चार महिनामा बस्नु पर्ने डब्लुसीसीको बैठक पाँच महिनायता बसेको छैन ।
