तत्कालका लागि अस्थायी रुपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको छ ।
बागमती — लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागाईंका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको हो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले बताए । राजनीतिक दलका नेताहरुसँग परामर्श भइरहेकाले त्यसपछि प्रदेशसभाको बैठकको मिति तय हुने उपसभामुख चापागाईंको भनाइ छ । सम्भवतः काात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढेको उनले बताइन् ।
प्रदेशसभाको सभाहल जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालिएको छ ।
तत्कालका लागि अस्थायी रुपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको हो । क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । हाल सो सभाहलको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सरसफाइ र रङगरोगनको काम अघि बढाएको छ ।
