छठ पर्वमा सिँगारियो राप्ती तट

छठले मकवानपुरमा मधेशी र पहाडी समुदायबीचको सद्भाव र आपसी सम्बन्ध सुमधुर बन्दै गएको छ ।

कार्तिक ८, २०८२

प्रताप विष्ट

Rapti coast decorated for Chhath festival

What you should know

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-१ स्थित राप्ती तटमा छठ पर्व मनाउने तयारी भइरहेको छ । विशेषगरी तराई मधेशमा भव्यताका साथ मनाइने छठ पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ ।

संयुक्त मधेशी सेवा समाज नेपाल छठ पूजा समारोह समितिका अनुसार नदी किनारमा व्रतालु बस्न मिल्ने गरी धमाधम पन्डाल हाल्ने र प्रवेशद्वार बनाउने कार्य सकिएको छ । 'अब सिँगारपटारको काम मात्र बाँकी छ । हेटौंडा बजार क्षेत्रको राप्ती रोडदेखि राप्ती पुलसम्म झिलिमिली बत्ती, नदी छिर्न मूल गेट, सहायक गेट समेत निर्माण गरिएको छ,' उनले भने । 

हेटौंडामा प्रत्येक वर्ष छठ पर्व मनाउनेको संख्या बढ्दै गएको छ । विशेषतः मधेशी समुदायले मनाउने छठ पर्व मकवानपुरमा पहाडी समुदायले पनि मनाउन थालेका छन् । छठले मकवानपुरमा मधेशी र पहाडी समुदायबीचको सद्भाव र आपसी सम्बन्ध सुमधुर बन्दै गएको छ । 

Rapti coast decorated for Chhath festival

यस वर्ष हेटौंडाको राप्तीतटमा ६५ हजार भक्तजन आउने आयोजकको अनुमान छ । सामूहिक पूजाका लागि २० फिट चौडा र ६५० फिट लम्बाइको पण्डाल राप्तीतटमा टाँगिएको  संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिए । तराईमधेश, पहाड र हिमाल जोड्ने यो छठपर्व सेतुको रुपमा रहेको छ ।  यो पर्व कुनै समुदायको मात्र नभएर सिंगो मुलुकको साझा पर्वको रुपमा रहेको आयोजकले बताएका छन् । 

सूर्यदेवको आराधना र उपासना गर्ने कैयौं व्रतालु पहाडिया पनि हुन्छन् । यो समावेशी पर्व बन्दै गएको छ । शनिबार  छठको पहिलो दिन व्रतालु नहाय खाय गरी छठ आरम्भ गर्छन् । दोस्रो दिन अर्थात् आइतबार खरना विधि गरिन्छ । तेस्रो दिन सोमवार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर व्रत समाप्त हुने छठ पूजा समारोह संयोजक रविरञ्जन कुमार कलवारले जानकारी दिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully