विद्युतको तार सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति 

आगलागीबाट करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

कार्तिक ७, २०८२

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको ईन्द्रसरोवरस्थित सुकौराको एक घरमा विद्युतको तार सर्ट भएर घरमा आगलागी हुँदा १३ लाख मूल्य बराबरको क्षति भएको छ ।

तिहारको टीका दिन अर्थात बिहीबार अपरान्ह ईन्द्रसरोवर गाउँपालिका–२ सुकौराका सोमलाल गोलेको घरमा विद्युतको तार सर्ट भएर आगलागी भएको थियो ।

ढुङ्गा माटोको गारो र ढुङ्गाकै छाना भएको २ तले कच्ची घरमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा २ लाख रुपैयाँ, २ तोला सुन, ४ तोला चाँदी, टिभी, अन्नपात, भाँडाकुडा, कपडा र खाँट  जलेर खरानी भएको थियो ।

आगलागीबाट करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully