चारैतिर जस्तापाताले बारेको घामपानी दुवै छिर्ने घरमा कष्टकर ढंगले गुजारा गर्दै आएकी मिठुमायाले पक्की घर पाउँदा उनी दंग परेकी थिइन् ।
What you should know
हेटौँडा — तिहारको पूर्व सन्ध्यामा पक्की घरमा बस्न पाउँदा उनी दंग परेकी छन्। मनहरी गाउँपालिका-९ ज्यामिरे बारघरेकी मिठुमाया सुनारलाई बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पक्की घर बनाएर आइतबार एक समारोहबीच उनलाई हस्तान्तरण गर्दै गृह प्रवेश गराएका हुन्।
मुख्यमन्त्री बानियाँले आफूले पाएको सरकारी सेवा सुविधाको रकमबाट मिठुमायालाई पक्की घर बनाइ दिएका हुन् । चारैतिर जस्तापाताले बारेको घामपानी दुवै छिर्ने घरमा कष्टकर ढंगले गुजारा गर्दै आएकी मिठुमायाले पक्की घर पाउँदा उनी दंग परेकी थिइन् ।
घरमा भान्छासहित ३ वटा कोठा र शौचालय छन्। गरिब एवम् एकल महिलालाई दिपावलीको अवसरमा पक्की घर बनाएर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको मुख्यमन्त्री बानियाँले बताए। बाग्मती प्रदेश सरकारले गरिबहरुको निम्ति घर बनाइदिने नीति लिने उनले जानकारी दिए। छाना चुहिएर घरभित्र पानीको ताल बन्ने गरेको घरमा उनी बस्दै आएकी थिइन् ।
करिब ५ लाखको लागतमा निर्माण गरिएको उक्त पक्की घर डेढ महिनामा तयार पारिएको हो । उक्त घर हस्तान्तरण कार्यक्रममा प्रदेशको सहकारी मन्त्री बिनु रायमाझी, गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामालगायतले बोलेका थिए ।
स्थानीयवासी,वडाध्यक्ष र पालिकाले उनलाई पक्की घर बनाइदिन सिफारिस गरेकाले मुख्यमन्त्री बानियाँले घर बनाइदिएका हुन्। गरिबीको कारणले ५ वर्ष अघि मिठुमाया पतिले विष सेवन गरेर आत्महत्या गरेका थिए । ३३ वर्षीय मिठुमायाको ६ वर्षदेखि ११ वर्षसम्मका ४ वटा छोरा छन् । साहिला छोरा अपाङ्गता भएका छन्।
आफ्नो कमाई गरेर खाने एक धुर जमिन पनि नभएकी मिठुमायाले ज्यालादारी गरेर ती चार बालकहरुलाई पालन पोषण गर्दै आएकी छन्। उनलाई एकल महिलाको भत्ताले पनि भरथेग गरेको छ ।
