तिहारपछि प्रदेश सभा बैठक बस्ने तयारी

प्रदेश सभाको मुख्य भवन क्षतिग्रस्त भएपछि तत्कालका लागि हेटौँडा उपमहानगरपालिका कार्यालय पछाडिको भवनमा अस्थायी रूपमा बैठक सञ्चालन गर्नका लागि उक्त भवनको मर्मत सम्भार कार्य भइरहेको छ ।

कार्तिक १, २०८२

प्रताप विष्ट

Preparations to hold provincial assembly meeting after Tihar

What you should know

हेटौँडा — लामो समयदेखि अवरुद्ध प्रदेश सभाको बैठक तिहारपछि सञ्चालन गर्ने तयारी थालिएको छ । प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका-२ स्थित मुख्यमन्त्री सभा हलमा बैठक राख्ने तयारी गरिएको छ । 

प्रदेश सभाको मुख्य भवन क्षतिग्रस्त भएपछि तत्कालका लागि हेटौँडा उपमहानगरपालिका कार्यालय पछाडिको भवनमा अस्थायी रूपमा बैठक सञ्चालन गर्नका लागि उक्त भवनको मर्मत सम्भार कार्य भइरहेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उक्त हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालनको तयारी गरेको हो ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको उक्त भवनको अधिकांश भाग जलेका छन् ।अल्मोनियम र युपिभिसी प्रोफाइलबाट निर्माण गरिएको उक्त भवनको सरसफाइ र विद्युतीकरणको काम गरेर बैठक चलाउने तयारीमा सरकार अघि बढेको हो ।

सहरी विकास तथा भवन कार्यालयले उक्त सभा हलको व्यवस्थापनको काम गरिरहेको छ । जलेका भागहरू हटाएर रंगरोगन गर्ने र अस्थायी प्रकृतिको व्यवस्थापनमा कार्यालयले काम गरिरहेको हो । कार्यालयका प्रमुख सुबोध अधिकारीका अनुसार सो भवनमामा जलेका स्थानमा सफा गरेर रङ लगाउने र विद्युतीकरणको काम गरिरहेको छ ।

तिहार अघि भवनको मर्मत सम्भारको काम सकिने छ कार्यालय प्रमुख अधिकारीले भने । तिहार पछि प्रदेश सभाको बैठक राख्ने तयारी भइरहेको । प्रदेश सभाका सचिव रामकुमार पौडेल बताए । हेटौँडा उपमहानगरपालिका—१०स्थित प्रदेश सभाको नवनिर्मित भवन जेन-जी आन्दोलनको क्रममा  आगजनी गरेर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ । करिब १२ करोडको लागतमा निर्माण गरिएको उक्त प्रदेश सभाको हल भदौ २४ गते  आगजनी गरेर नष्ट भएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully