रामेछापमा प्लास्टिकका फूल बेच्न कडाइ

निर्देशन कार्यान्वयनका लागि जिल्ला स्तरीय अनुगमन समितिले अनुगमन गर्नेछ ।

आश्विन ३०, २०८२

नवराज श्रेष्ठ

Stricter measures against selling plastic flowers in Ramechhap

रामेछाप — तिहार नजिकिँदै गर्दा रामेछापमा प्लास्टिकका फूलको आयात, बिक्री- वितरण र भण्डारणमा कडाइ गरिएको छ ।

जिल्ला प्रशासन रामेछापले बुधबार जिल्लाका आठवटै पालिकालाई पत्राचार गर्दै प्लास्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासनका प्रशासकीय अधिकृत प्रकाश प्रधानका अनुसार वन तथा वातावरण मन्त्रालयबाट प्रकाशित राजपत्रको सूचनाअनुसार नेपालभरै प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री, वितरण वा भण्डारणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । निर्देशन अटेर गरी आयात वा बिक्री गरेमा कानुनी कारबाही गरिने उनले बताए ।

निर्देशन कार्यान्वयनका लागि जिल्ला स्तरीय अनुगमन समितिले अनुगमन गर्ने छ । उक्त समितिले बजार अनुगमनका क्रममा प्लास्टिकजन्य फूलगुच्छा भेटिए तत्काल कानुनी कारबाही अघि बढाइने प्रशासनले जनाएको छ ।

तिहारलाई लक्षित गर्दै बजारमा वातावरणमैत्री, स्थानीय रूपमा उत्पादित फूल र मालाको प्रयोग गर्न प्रशासकीय अधिकृत प्रधानले आग्रह गरे ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully