काभ्रेमा ५२ कैदीबन्दी पक्राउ

प्रहरीले १३ वटा मुद्दा शीर्षकका ५२ जना कैदी, थुनुवा तथा बाल बिज्याईँकर्ताहरुलाई पक्राउ गरी जिल्ला कारागार काभ्रेपलाञ्चोक तथा बाल सुधार गृह भक्तपुर चलान गरेको छ ।

आश्विन २८, २०८२

ज्योती श्रेष्ठ

52 prisoners arrested in Kavre

What you should know

काभ्रे — भदौ २४ को प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागारबाट फरार भएका ५२ कैदीबन्दी काभ्रेमा पक्राउ परेका छन् । गत भदौ २४ गते देशका विभिन्न कारागार, प्रहरी हिरासत तथा बालसुधार गृहबाट फरार रहेका कैदी, थुनुवा तथा बाल बिज्याईँकर्तामध्ये काभ्रेबाट ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

भदौ २४ गतेदेखि असोज २८ गतेसम्म विभिन्न मितिमा काभ्रेबाट ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, पक्राउ परेकाहरु देशभरका विभिन्न कारागारबाट फरार रहेकाहरु छन् । 

प्रहरीले केन्द्रीय कारागारबाट फरार २४ जना, कारागार कार्यालय नख्खुबाट फरार १८ जना , कारागार कार्यालय, सिन्धुलीबाट फरार ३ जना, झुम्का कारागार सुनसरीबाट २ जना, डिल्लीबजार कारागारबाट १ जना,  बाल सुधार गृह भक्तपुरबाट १ जना,  नेपालगन्ज बालसुधार गृहबाट १ जना,  मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतबाट १ जना, र जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट १ जना गरी कुल ५२ जना फरारलाई पक्राउ गरेको हो । 

फरार भई पक्राउ परेकाहरुमध्ये जबरजस्ती करणी मुद्दामा १४ जना, कर्तव्य ज्यान मुद्दामा १२ जना, लागूऔषध मुद्दामा ७ जना,  चोरी मुद्दामा ४ जना,  सवारी ज्यान मुद्दामा ३ जना, मानव बेचबिखन मुद्दामा ३ जना,  अपहरण तथा शरीर बन्धक मुद्दामा २ जना,  ठगी मुद्दामा २ जना,  खोटा चलन मुद्दामा  १ जना,  वन्यजन्तु चोरी पैठारी मुद्दामा १ जना,  सट्टेबाजी तथा सम्पति शुद्धीकरण मुद्दामा १ जना,  अध्यागमन ऐनविरुद्धको कसूर मुद्दामा १ जना विदेशी नागरिक र जबरजस्ती करणी उद्योग मुद्दामा १ जना गरी ५२ जना रहेको उनले बताए ।

प्रहरीले १३ वटा मुद्दा शीर्षकका ५२ जना कैदी, थुनुवा तथा बाल बिज्याईँकर्ताहरुलाई पक्राउ गरी जिल्ला कारागार काभ्रेपलाञ्चोक तथा बाल सुधार गृह भक्तपुर चलान गरेको उनले जानकारी दिए ।   

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully