सामान्य अवस्थामा काठमाडौंबाट हेटौंडा साढे ३ घण्टाको दुरी भए पनि अहिले कम्तीमा ५ घण्टा लाग्ने गरेको छ ।
हेटौंडा — अविरल वर्षाका कारण आएको बाढीपहिरोले बीपी राजमार्ग क्षतिग्रस्त भएपछि हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारीसाधनको अत्याधिक चाप परेको छ ।
बीपी राजमार्ग भएर काठमाडौं आउजाउ गर्ने सवारीसाधन मदन भण्डारी मार्ग हुँदै सिन्धुलीबाट हेटौंडा आउने गरेका छन् । हेटौंडा-भैसे-भीमफेदी-कुलेखानी-फाखेल-सिस्नेरी-कान्तिलोकपथमा सवारीसाधनको चाप बढ्दो छ । सामान्य अवस्थामा काठमाडौंबाट हेटौंडा साढे ३ घण्टाको दुरी भए पनि अहिले कम्तीमा ५ घण्टा लाग्ने गरेको छ । हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने वैकल्पिक सडक साँघुरा र घुमाउरा छन्, त्यहीमाथि पहिरोले सडकमा क्षति पुर्याएको छ ।
‘बीपी राजमार्ग क्षतिग्रस्त भएकाले हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने सडकहरुमा अहिले सवारी चाप बढदो छ, साँघुरो सडक भएकाले ठाउँठाउँमा जाम पनि हुने गरेको छ,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले भने, ‘हेटौंडा, भैंसे, भीमफेदी, कुलेखानी, फाखेल र कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै चारपांग्रे र दुईपांग्रे गरी दैनिक करिब १० हजार सवारी आउजाउ गर्ने गरेका छन् ।’
अहिले यो सडक भएर पूर्व र मध्य नेपालका सबैजसो जिल्लाबाट दैनिक हजारौं निजी र सार्वजनिक सवारीसाधन गुडिरहेका छन्। ओखलढुंगा–खोटाङ–सोलुखुम्बु–भोजपुरजस्ता पूर्वी पहाडी जिल्लामा जाने सबैजसो साना सवारी पनि यतिबेला यही सडक भएर गुडिरहेका छन् ।
दसैं मनाएर राजधानी फर्किएका यात्रुका कारण अहिले यो सडकमा चारपांग्रे गाडी र मोटरसाइकलको चाप थेगिनसक्नुछ । वर्षाका बेला यो सडकमा खसेको पहिरोको कारण केही ठाउँमा दुईतर्फी सवारी सञ्चालनमा समस्या छ ।केही ठाउँमा मुस्किलले एउटा गाडी मात्रै गुड्न मिल्ने गरेर पहिरो पन्छाइएको छ ।
