पहिरोमा अलपत्र परेका ४ विदेशी पर्यटकको उद्धार

लप्ची घुम्न गएका चार पर्यटक पहिरोले बाटो भत्काएपछि अलपत्र परेका थिए, जसलाई बिहीबार बिहान प्रहरीले डोरीको सहारामा जोखिमपूर्ण भीरबाट सुरक्षित निकालेको हो।

आश्विन २३, २०८२

केदार शिवाकोटी

Rescue of 4 foreign tourists stranded in the landslide

दोलखा — दोलखाको बिगु गाउँपालिका–देउरालीमा पहिरो गएर पैदल मार्ग भत्किँदा अलपत्र परेका चार जना विदेशी पर्यटकको बिहीबार उद्धार गरिएको छ।

लप्ची घुम्न गएका ती चार जना पर्यटक मंगलबार पहिरोले पैदल मार्ग भत्काएपछि लुम्नाङमा अलपत्र परेका थिए। उनीहरूको बुधबार हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भए पनि सम्भव नभएपछि बिहीबार बिहान नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीले अप्ठ्यारो भीरमा डोरीको सहाराले उद्धार गरेको दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए।

उनका अनुसार ती पर्यटकलाई बिहीबारै काठमाडौं पठाउने तयारी गरिएको छ। पहिरोका कारण चीनसँग सीमा जोडिएको लप्ची सम्पर्क विच्छेदमा परेको छ। पहिरो पन्छ्याएर स्थानीयलाई आउजाउ सहज बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

जलविद्युत् आयोजनाले सडक बनाउने क्रममा अनियन्त्रित रूपमा विस्फोटक पदार्थ प्रयोग र जथाभाबी खन्दा सो क्षेत्रमा निरन्तर सुख्खा पहिरो खस्ने गरेको छ।

केदार

Link copied successfully