आइतबारदेखि नयाँ दर्ता हुन आउने निषेधाज्ञा निवेदनको दर्ता र सुनुवाइ पनि सुरु हुने अदालतले जनाएको छ ।
काठमाडौँ — भदौ २४ गते भएको आगजनीका कारण महत्वपूर्ण कागजपत्र र अभिलेख जलेर लगभग नष्ट भएको र भवनमा समेत ठूलो क्षति पुगेको चितवन जिल्ला अदालतले आजदेखि थप सेवा सुरु गर्दै छ ।
बिहीबारदेखि विवाह दर्ता, अधिकृत वारेसनामा, मृत्युको न्यायिक घोषणा, संरक्षक नियुक्ति लगायतका विशेष प्रकारका निवेदन दर्ता र सुनुवाइ सेवा सुरु हुँदै छ ।
अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आइतबारदेखि मिलापत्र गर्ने प्रयोजनले दर्ता हुन आउने सम्बन्ध विच्छेद मुद्दा पनि दर्ता हुनेछन् । सोही दिनदेखि नयाँ दर्ता हुन आउने निषेधाज्ञा निवेदनको दर्ता र सुनुवाइ पनि सुरु हुने उनले जानकारी दिए ।
यसअघि चितवन जिल्ला अदालतले भदौ ३० देखि सेवा सुरु गरेको थियो । हाल चितवन जिल्ला अदालतमा म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पुर्जी स्वीकृति, पक्राउ पुर्जी अनुमति, बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता तथा सुनुवाइ र अभियोगपत्र साथ उपस्थित गराई प्रतिवादीहरूको बयान तथा थुनछेक कार्य जस्ता सेवा सञ्चालनमा छन् । सुरु भएका र हुन लागेका उल्लिखित सेवाबाहेक अन्य सेवाहरू सुरु हुने सम्बन्धमा पछि सूचना निकालेर जानकारी गराउने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए ।
