अहिले जताततै पानीका मूल फूटेका छन्, जमिन सर्दै गएको छ । धेरै परिवार डरले राति ढुक्कले सुत्न सक्दैनन् ।
What you should know
रामेछाप — रामेछापको सुनापति गाउँपालिका–३ मा खानी खोलाबाट सुरु भएको पहिरोले जमिन नै सर्न थालेपछि चार गाउँका करिब ९० घर परिवार उच्च जोखिममा परेका छन् ।
केउरिनी, साउने, नागासिवा र च्याम्दुङ गाउँका बासिन्दा जोखिम मोलेर बस्तीमै बसेका छन् । यी गाउँभन्दा तल बग्ने खानी खोलाबाट सुरु भएको पहिरोले सुनापति डाँडादेखिकै जमिन सर्न थालेको सुनापति–३ साउनेका राम श्रेष्ठले बताए । 'यो ठाउँ पहिलादेखि नै पहिरोको जोखिममा थियो,' उनले भने, 'गत वर्ष असोज दोस्रो साताको बाढी–पहिरोपछि झन् जोखिम बढेको हो । अहिले असोज १७, १८ र १९ गतेको लगातार वर्षाले जताततै पानीका मूल फूटेका छन् । यसले गर्दा बस्तीसहितको जमिन बग्न थालेको छ । अब बस्ती सार्नुको विकल्प छैन, तर स्थानीयलाई कहाँ जाने भन्ने अन्योल छ ।'
श्रेष्ठका अनुसार सबैभन्दा बढी जोखिम साउने र केउरेनीका बस्तीमा छ भने त्यसपछि च्याम्दुङ र नागासिवाका घर पनि जोखिममा छन् । 'अहिले जताततै पानीका मूल फूटेका छन्, जमिन सर्दै गएको छ,' उनले भने, 'यस कारण धेरै परिवार डरले राति ढुक्कले सुत्न सक्दैनन् । हामीले वडा र पालिकालाई जानकारी गराइसकेका छौँ र पालिकाले पनि अनुगमन गरेको छ ।'
अर्का स्थानीय रोज थिङका अनुसार पहिरोका कारण जमिन सर्दै गएपछि धेरै घरहरू बस्नै नसकिने गरी भत्किएका छन्, बाँकी घरहरूमा पनि चिरा परेका छन् । केउरेनी गाउँका अधिकांश घर भत्किएका छन् भने अन्य गाउँका घरहरूमा पनि चिरा परेर बस्न कठिन भएको उनले बताए ।
हाल गाउँपालिका–३ हिलेदेवीका करिब ९० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका कारण पालिका स्तरीय विपद् व्यवस्थापन समितिले आवश्यक अनुगमनपछि घरहरूको पहिचान कार्य अगाडि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताए । उनका अनुसार अहिले मुख्य समस्या वडा नं ३ का केउरेनी, साउने र च्याम्दुङ बस्तीमा केन्द्रित छ । 'यी गाउँभन्दा तल बग्ने खानी खोलाबाट सुरु भएको पहिरोले पूरै जमिन बग्न थालेपछि माथिका बस्ती जोखिममा परेका छन्,' उनले भने, 'अब घरहरू सार्नुको विकल्प छैन, त्यसैले तत्काल सार्नुपर्ने घरहरूको पहिचान भइरहेको छ ।'
श्रेष्ठका अनुसार पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ती जोखिमग्रस्त बस्तीका घरहरू पहिचान गर्न वडा नं ३ का वडा अध्यक्ष कुलबहादुर थिङको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले अनुगमन कार्य सुरु गरिसकेको छ । 'यो क्षेत्रलाई २०४६/४७ सालमै पहिरोको उच्च जोखिम क्षेत्रका रूपमा वर्गीकृत गरिएको रहेछ । सो समयमा पनि केही परिवार पहिरोको जोखिमपछि गाउँबाट बसाइँ सरेका थिए रे,' उनले भने ।
त्यसपछि केही वर्ष पहिरो थामिएजस्तो देखिए पनि गत वर्ष असोज दोस्रो साताको अविरल वर्षाले पुनः सक्रिय बनाएको र यस वर्षको असोज १७ देखि १९ गतेसम्मको वर्षापछि माथिल्ला भागहरूमा नयाँ–नयाँ पानीका मूल फूटेर जोखिम अझ बढेको उनले बताए ।
