स्थानीय चाकु बजार, बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारबाट जोड्ने सडक खोलामा आएको बाढीले बगाएको छ ।
What you should know
सिन्धुपाल्चोक — जिल्लाको भोटेकोसी गाँउपालिका वडा ५ मार्मिङ चाकु खोलाले यहाँको बाटो बगाउँदा मार्मिङमा दुई दिनदेखि यातायात अवरुद्ध छ । गाउँ पुग्ने सबै कच्ची सडक ठप्प बनेयता स्थानीय गाउँमै थुनिएका छन् ।
‘यहाँसम्म पुग्ने तीन वटा सडक छन्, पहिरोले तीनै बाटो अवरुद्ध भएपछि हामी गाउँमै थुनिएका छौं । बजारसम्म पुग्ने बाटो नै छैन’, स्थानीय पेमा शेर्पाले बताए ।
स्थानीय चाकु बजार, बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारबाट जोड्ने सडक खोलामा आएको बाढीले बगाएको छ । जिल्लाको दुर्गम ईलाकामा गनिने मार्मिङ गाउँभर शेर्पा, तामाङलगायत समयमुदायका पाँच सय भन्दा बढी परिवार बस्छन् ।
लगातारको वर्षाले दैनिक उपभोग्य सामग्री लैजाने मुख्य बजार आउने बाटो बन्द भएपछि यहाँका स्थानीय निराश भएका छन् । यसबारे भोटेकोशी गाउँपालिका–५ का अध्यक्ष दावा त्यम्बा तामाङले बाटो खोल्ने प्रयास भइरहेको र एक्जाभेटर खोजिरहेको जानकारी दिए ।
‘बाटो खोल्न प्रयास भइरहेको छ, ठूला सवारीसाधन आउजाउ गर्ने सडक नहुँदा समस्या भएको छ,' उनले भने । मार्मिङ भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनुर्बु शेर्पाकै गाउँ हो । सडकको समस्याबारे उनीसँग ९८५१०१८३६९ नम्बरमा बुझ्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन ।
स्थानीयकाअनुसार गाउँपालिका उपाध्यक्ष दिछेन शेर्पाले बजेट वडालाई दिइसकेको हुनाले उता सम्पर्क गर्न आग्रह गरेकी छिन् । आइतबार मृत्यु भएका एक स्थानीयको लागि बाह्रबिसे र चाकुबाट हिँडेका मलामी पनि बाटोमा अलपत्र परेको स्थानीयले गुनासो गरेका छन् ।
‘अध्यक्ष नै बेखबर छन्, उनलाई आफ्नै गाउँको मतलव देखिएन, अरु कुरा त गाउँपालिका कसरी चलेको होला? भगवान् जानुन्, हिले सडकबारे बुझ्न खोज्दा फोन लाग्दैन,' गोल्चीकी स्थानीय सानुमाया तामाङले प्रश्न गरिन् ।
