भोटेकोशी नदीमा बेपत्ता चालक र सहचालक तथा पहिरोमा हराइरहेका दुई जना अझै भेटिएका छैनन् ।
सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिकाको भैंसेस्थित सुनकोशी नदीको भुमरीमा सोमबार एक बालकको शव भेटिएको छ ।
बन्देउस्थित सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकका प्रमुख एसपी अच्युत मजगैयाका अनुसार करिब १२ वर्षीय बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको हो । 'बालकको नाम वतन खुलेको छैन, बालकलाई कुन स्थानबाट बगाएर ल्याएको भन्नेबारे यथार्थ विवरण फेला परेको छैन,' उनले भने ।
यसअघि असोज १० मा बलेफी गाउँपालिका–५, बलेफीस्थित अरनिको राजमार्गबाट एक भ्यान भोटेकोशी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका थिए र सहचालक बेपत्ता भएका थिए ।तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको जिप सडकबाट भोटेकोशी नदीमा खसेको थियो । उनीहरुको प्रहरीले खोजी गरिरहे पनि केही पत्ता लाग्न सकेको छैन ।
यस्तै, असोज ८ मा मामाघर हिँडेका चौतारा साँगाचोकगढी नगरपालिका–२, भोटेफुल्पिङका १७ वर्षीया फूलमाया लामा र ५ वर्षीया मनमाया लामा पनि पहिरोमा परेर बेपत्ता छन् । उनीहरु जुगल गाउँपालिका–२, गोल्चे मामाघरतर्फ पैदल जाँदै गरेका थिए ।
उनीहरुको खाेजीकार्यमा पर्यटन व्यवसायी, स्थानीय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी समेत खटिएका सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाले बताए ।
