वर्षात् रोकिएपछि राजमार्गको अवस्था हेरेर राजधानी पठाउन थालिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।
दोलखा — बिपी राजमार्गको वैकल्पिक मार्ग प्रयोग गरेर चरिकोटमा शनिबार राति होल्ड भएका सवारी साधनलाई आइतबार बिहानबाट राजधानी पठाउन थालिएको छ।
वर्षात् रोकिएपछि राजमार्गको अवस्था हेरेर राजधानी पठाउन थालिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।
बिपी राजमार्गको वैकल्पिक मार्गअन्तर्गत पुष्पलाल मार्ग प्रयोग गरेर मन्थली-तामाकोसी चरिकोट हुँदै राजधानी जाने प्रयास गरे पनि दोलखा प्रहरीले चरिकोटमा शनिबार राति ३ सय साना ठुला सवारीसाधन र त्यसमा यात्रा गरिरहेका १ हजार बढी यात्रुलाई होल्ड गरेको थियो ।
लगातारको वर्षाका कारण मुख्य राजमार्ग बन्द हुँदा यो मार्ग प्रयोगमा आएको हो । दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले राजमार्गको अवस्था सामान्य भएकाले सडक सुरक्षामा ध्यान दिन आग्रह गरेर सवारीसाधनलाई गन्तव्यसम्म जान दिइएको बताए ।
शनिबार राति चरिकोटमा रोकिएका सवारी साधनका यात्रुलाई चरिकोटका कतिपय होटलहरूले नि:शुल्क आवास र खानपानको व्यवस्थापन गरेका थिए । कतिपय होटलले सहुलियतमा यात्रुलाई बास दिएको उनले बताए ।
