रोशी खोला आफ्नो धारमा नबहेर अन्यत्र फैलिएर गएकाले यस स्थानका बस्तीहरु जोखिममा छन् ।
काभ्रे — रोशी गाउँपालिका-१ र २ को जोखिम बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । करिब १५० जनालाई लक्ष्मी नारायण माध्यमिक विद्यालयमा राखिएको हो ।
रोशी-१ स्थित नक्कले डाँडाका गंगालाल श्रेष्ठका अनुसार रोशी खोलामा पानीको बहाब बढ्दै गएपछि त्यस स्थानमा बस्न जोखिम हुने भएकाले नक्केल डाँडा, फलामेसाँघु, नारायणटार लगायतका स्थानका करिब १५० जना रातभर स्कुलमा बसेका थिए ।
अहिले नक्कले डाँडामा पानीको बहाव उच्च रहेको र खोला कटान गरी बस्तीमा पस्न लागेको उनले जानकारी दिए । उक्त स्थान निकै जोखिममा रहेको छ । रोशी खोला आफ्नो धारमा नबहेर अन्यत्र फैलिएर गएकाले यस स्थानका बस्तीहरु जोखिममा छन् ।
यस्तै, बीपी राजमार्गमा अलपत्र परेका १६ जनालाई रोशी गाउँपालिकाको भवनमा राखिएको छ । शनिबार निरन्तर वर्षाको कारण सडक अवरुद्ध भएको थियो । राजमार्ग हुँदै यात्रा गरी अलपत्र परेकाहरूलाई उद्धार गरी गाउँपालिकाको प्रशासनिक भवनमा राखिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
