बीपी राजमार्गको विकल्पमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, रामेछापलगायत जिल्लाका सवारी साधनले पुष्पलाल मार्ग प्रयोग गरेर यात्रीलाई काठमाडौं पुर्याएका हुन् । आइतबारसम्म यो मार्गबाट १० हजार यात्री काठमाडौं गएको प्रहरीको भनाइ छ ।
What you should know
दोलखा — बीपी राजमार्ग रोशी खोलाको बाढीले कटान र पहिराले अवरुद्ध गरेपछि काठमाडौंसम्म जोड्ने वैकल्पिक पुष्पलालमार्ग प्रयोगमा आएको छ । रामेछाप, ओखलढुङ्गा, खोटाङ,उदयपुर सोलुखुम्बु लगायतका जिल्लाबाट दसैं मानेर कर्मथलो फर्कनेहरूले पुष्पलाल मार्ग प्रयोग गरेका छन् । शनिबार दिउँसोबाट बीपी राजमार्गको विकल्पमा सवारी साधनले पुष्पलाल मार्ग प्रयोग गरेर यात्रीलाई काठमाडौं लैजान थालेका हुन् ।
बाढीले बीपी राजमार्ग अवरुद्ध पारेपछि विच्छेदमा परेको रामेछापसहितका जिल्लाका सवारी साधन काठमाडौं आवतजावतमा सहजता ल्याउन पुष्पलाल मार्ग सञ्चालनमा आएको हो । शनिबार साँझ यो मार्ग प्रयोग गरेर आएका सवारी साधनलाई चरिकोटमा होल्ड गरिएको थियो ।
लगातारको वर्षामा आएका ३ सयभन्दा बढी सवारी साधन चरिकोटमा होल्ड गरेर आइतबार बिहान गन्तव्यमा जान दिइएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । आइतबार बिहानबाट अरनिको राजमार्गको अवस्था बुझेर सवारीसाधन छाडिएको उनले बताए ।
‘बीपी राजमार्ग तत्काल सञ्चालनमा आउन नसक्ने भनेपछि पुष्पलालमार्ग प्रयोगमा आएको छ,’ उनले भने, ‘सवारी चाप बढेकाले जोखिम क्षेत्रको पहिचान गरेर किर्नेटार र खरिढङ्गामा समन्वय गर्न प्रहरी खटाइएको छ, सवारीसाधन र यात्रुको सुरक्षाका लागि प्रहरी परिचालन गरेका छौँ ।’
शनिबार साँझदेखि आइतबार अपराह्नसम्म ७ सयभन्दा बढी ठूलासाना सवारीसाधनमा झन्डै १० हजार बढी यात्रु यही मार्ग भएर काठमाडौं गएको उनले बताए । सवारीसाधनको चाप र जोखिम हेरेर साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाइएको उनले बताए ।
'रातको समय भएकाले जोखिम यात्रा नगर्न आग्रह गरेर राती राजमार्ग बन्द गर्ने निर्णय भएको छ,’ उनले भने, ‘जोखिम अझै कायमै भएकाले चालकसहित यातायात व्यवसायीलाई यो समयमा सवारीसाधन नचलाइदिन आग्रह गरेका छौँ ।’ साना र अत्यावश्यक बिरामी बोकेका एम्बुलेन्सले विकल्पका रूपमा यो सडक प्रयोग गर्न सक्ने उनले बताए ।
गएको वर्षको बाढीले तामाकोशी गाउँपालिका–५ किर्नेटारमा खिम्ती जलविद्युत् केन्द्रको विद्युत गृह नजिकै पुष्पलाल मार्गको ४ सय मिटर सडक तामाकोसी नदीले कटान गरेर पुनः निर्माण गरिएपनि कटान भएकाले त्यस क्षेत्रमा जोखिम कायमै भएको उनले बताए ।
रामेछापको मन्थली हुँदै पुष्पलाल मार्गबाट लामोसाँघु जिरी सडक र अरनिको राजमार्ग जोडिन्छ । बीपी राजमार्ग खुल्नुअघि त्यस भेगका स्थानीयले यही सडकबाट यात्रा गर्ने गर्थे । दसैं मनाएर कर्मथलो फर्कने त्यस भेगका सवारी साधनले यो राजमार्ग प्रयोग गर्नेछन् । बर्दिबासबाट सिन्धुलीको खुर्कोट नजिकैसम्म बिपी राजमार्ग सञ्चालनमा छ । खुर्कोटबाट १८ किलोमिटको यात्रापछि रामेछापको मन्थली हुँदै ५४ किलोमिटर पुष्पलालमार्ग भएर चरिकोट पुगिन्छ । चरिकोटबाट १ सय ३३ किलोमिटरमा राजधानी पुग्न सकिन्छ ।
उक्त सडक कालोपत्र छ । बर्दिवासबाट यो वैकल्पिक मार्ग प्रयोग गरेर राजधानी पुग्न ३ सय १५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ । नागढुङ्गा– मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा बीपी राजमार्ग हुँदै पुष्पलाल मार्गबाट लामोसाँघु जिरी सडक अन्तर्गत चरिकोटबाट अरनिको राजमार्ग जोडिन्छ यो सडक ।
यस्तै, सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाले ठाउँ ठाउँमा अवरुद्ध भएका कच्ची सडकको अवरोध हटाएपछि शनिबारबाट त्यस भेगका साना सवारी साधन सल्लेरी– जिरी सडक वैकल्पिक रूपमा सञ्चालनमा आएको छ । त्यस क्षेत्रका साना जिपहरूले सिधै सल्लेरी–लामासाँघु–जिरी–चरिकोट हुँदै काठमाडौं आउजाउ गर्न थालेका छन् । लामो दुरीका सवारीसाधन राजधानी पुगेर लगत्तै यात्रु लिन फर्कने गरेकाले यातायात व्यवसायीलाई दुई जना चालक राख्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।
किर्नेटारमा ठूला सवारी आगमनमा गर्ने सडक तामाकोसी नदीले कटान गरेका कारण केही दिनका लागि खिम्ती जलविद्युत् केन्द्र भित्रको सडकबाट सञ्चालन गर्न दिन आग्रह गरिएको उनले बताए । भासिएको पुष्पलाल मार्ग अन्तर्गतको कालीदह सडक खण्ड मर्मत गरेर सञ्चालनमा ल्याएकाले कतैपनि राजमार्गमा अवरोध नभएको उनले बताए । 'हामीले आफ्नो क्षेत्रमा रहेको राजमार्गको सबै अवस्था फिल्डमा गएर हेर्यौं, कतै पनि समस्या देखिएन,’ उनले भने, ‘तत्कालका लागि बीपी राजमार्ग विकल्पमा यो मार्ग यात्रा गर्न सुरक्षित भएकाले खुल्ला गरेका छौँ, यात्रु र सवारीसाधनको सुरक्षाका लागि राजमार्गमा प्रहरी गस्ती परिचालन गरेका छौँ ।’ जोखिम कम भएपनि अझै रातमा सवारीसाधन नचलाउन यातायात व्यवसायीलगायतका पक्षलाई आग्रह गरिएको उनले बताए ।
गएको वर्ष असोज १२ गतेको बाढीले बिपी राजमार्ग बगाएपछि पुष्पलाल मार्ग वैकल्पिक रूपमा प्रयोगमा आएको थियो । यातायात व्यवसायीलाई दसैं माने फर्कने यात्रुसँग मितव्ययी भाडादार लिइदिन पनि आग्रह गरिएको दाहालले बताए ।
‘छोटो दुरीको राजमार्ग अवरुद्ध बनेकाले केही समय लामो दुरीको यात्रा हुने भएकाले मितव्ययी भाडदार लिन सार्वजनिक यातायातलाई आग्रह गरेका छौँ,’ उनले भने, ‘भाडा दर अचाक्ली लिएको भनेर केही गुनासो आएका छन्, यात्रुको सुरक्षा र भाडदार सहज बनाउनेगरी छलफल भइरहेको छ ।’ अवस्था हरेर छिमेकी जिल्लाहरूसँग सल्लाह गरेर राजमार्गमा यात्रा सहज बनाउने छलफल भइरहेको उनले बताए ।
यसैबीच रामेछाप प्रशासनले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
