तौथलीमा दही छ्याप्ने जात्रा

सिन्धुपाल्चोकको तौथली बजारमा शुक्रबार दही छ्याप्दै 'तौथली दही जात्रा' मनाइएको छ ।

आश्विन १७, २०८२

अनिश तिवारी

Festival of Curd Splashing in Tauthali

What you should know

तौथली, सिन्धुपाल्चोक — जिल्लाको पुरानो र ऐतिहासिक नगरी मानिने त्रिपुरासुन्दरी गाउँपालिका- ५ तौथली बजारमा शुक्रबार  दही छ्याप्दै 'तौथली दही जात्रा' मनाइएको छ । तौथली भेगभर जिल्लाभरबाट आएका वृद्धवृद्धादेखि युवासम्मले ठेकी र बाल्टीबाट अबिर मिसिएको दही निकाल्दै एकअर्कालाई छ्यापाछ्याप गरे ।

स्थानीय अगुवा मोहन श्रेष्ठका अनुसार ‘जय जय ओम महादेवी ’ भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजाविधिसहित ल्याइएका) ६ वटा परम्परागत लिंगोमा पूजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली सुरु हुने गर्छ । भूकम्पपछि पुरातत्त्व विभागको तीन करोड ६५ लाखमा चिटिक्क पुरानै संरचनामा पुनर्निर्माण गरिएको त्रिपुरासुन्दरी माईको मन्दिरअगाडि पुग्दा जात्रा झनै ठूलो भएको थियो । 'मुलुकमै यस्तो अनौठो दही छ्याप्ने परम्परा र अनेकौं प्राचीन पूजा, अनुष्ठान र जात्रा कहीँ छैन, यस्तो प्राचीन इतिहास बोकेको तौथलीमा मात्रै छ ,'उनलेे भने ।

Festival of Curd Splashing in Tauthali

दिउँसोबाट सुरु भएको दही छ्याप्ने जात्रा अबेरमा सकेपछि महादेवीलाई जगाउन लिंगो नचाउँदै तरबार, खुँडा, खुकुरी देखाएर नृत्य निकालिएको थियो । ललिता त्रिपुरासुन्दरी महादेवीको मन्दिरमा जात्रा पुग्दा सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो । 'महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गरेको खुसीयालीमा किराँतकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ,' तौथलीका वडाध्यक्ष यादव श्रेष्ठले भने । गुठियार, स्थानीयले गाई, भैंसी नथाकोस् र पशुपालन, व्यवसाय सप्रिँदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गर्दै आएका छन् ।

Festival of Curd Splashing in Tauthali

‘खासमा दही प्रसादको रूपमा बाँडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापाछ्याप गरिन्छ,’ उनले भने । दही जात्राको संरक्षणका लागि गाउँपालिकाले एक लाख बजेट छुट्याएको छ । हनुमान ढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बली बडादसैँको फूलपातीबाट नै सुरु हुने गर्छ ।

Festival of Curd Splashing in Tauthali

विजयदशमीको फूलापतीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तिन वटा माछा चढाउँछन् । महाअष्टमीको दिन कालो रंगको बोकाको मात्रै बली दिइन्छ । दशमीको रात यहाँ वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव, कुमारी,चण्डी, स्याल कहनजस्ता नृत्य जात्रा हुन्छ ।

Festival of Curd Splashing in Tauthali

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully