हेटौंडा भएर राजधानी प्रवेश गर्ने सडकमा राती आउजाउ गर्न रोक

त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र भैसे भीमफेदी हुँदै राजधानी प्रवेश गर्ने सवारी साधनलाई शुक्रबार अपरान्ह ५ बजेदेखि बिहान ६ बजेसम्म आउजाउ गर्न रोक लगाइएको छ ।

आश्विन १६, २०८२

प्रताप विष्ट

Prohibition of driving at night on the road leading to the capital through Hetaunda

हेटौंडा — मौसम पूर्वानुमान अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने सवारी साधनलाई शुक्रबारदेखि चार दिनलाई राती आवतजावत गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार जारी गरेको सूचना अनुसार जल तथा  मौसम विज्ञानद्वारा मौसमको पूर्वानुमान अनुसार मकवानपुर जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेकाले जनधनको क्षति हुन नदिन हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई राती आउजाउ गर्न रोक लगाएको हो ।

त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र भैसे भीमफेदी हुँदै राजधानी प्रवेश गर्ने सवारी साधनलाई शुक्रबार अपरान्ह ५ बजेदेखि बिहान ६ बजेसम्म आउजाउ गर्न रोक लगाइएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा हुँदै कान्तिलोकपथबाट उपत्यका प्रवेश गर्ने सवारी साधनलाई शुक्रबार अपरान्ह ४ बजेदेखि बिहान ६ बजेसम्म आउजाउ गर्न रोक लगाएको छ ।

सोमबार अर्थात् असोज २० गतेसम्म सवारी साधनलाई उक्त सडक मार्ग भएर राती  आउजाउ गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।  भारी वर्षा हुने सम्भावना रहेकाले धनजनको क्षति हुन नदिन राती सवारी साधन आउजाउ गर्न रोक लगाइएको प्रजिअ स्किम श्रेष्ठले बताइन् ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully