डेंगीले सताइरहने चितवनमा यसपालि कस्तो छ जोखिम ?

यो वर्ष देशभर नै डेंगी उच्च अवस्थामा नपुगे पनि लामखुट्टेको टोकाइबाट जोगिने र सरसफाइ बढाउने कार्यमा भने ध्यान दिनैपर्ने चिकित्सकहरू बताउँछन् ।

आश्विन १४, २०८२

रमेशकुमार पौडेल

What is the risk this year in Chitwan, which is plagued by dengue?

चितवन — दसैं-तिहारका बेला कुनै समय चितवनमा डेंगी संक्रमण उच्च हुन्थ्यो । अस्पताल ज्वरोका बिरामीले भरिएका हुन्थे । तर यो पटक असोजको दोस्रो सातामा पनि चितवनमा डेंगीबाट संक्रमित हुनेको संख्या सयभन्दा तलै छ ।

गर्मी र वर्षासँगै डेंगी रोगको संक्रमण सुरु हुन्छ । भदौ-असोजमा अत्यधिक बढ्दै कात्तिकसम्म डेंगीले अत्याउने गरेको विगतको अवस्था हो । तर यो वर्ष साउनयता असोज १२ गते आइतबारसम्म चितवनमा डेंगीबाट संक्रमित हुनेहरुको संख्या ८१ मात्रै छ । 

‘यो वर्ष डेंगी संक्रमणको अवस्था एकदमै सुस्त छ । तर असोज धेरै नै बाँकी छ । कात्तिकमा डेंगी उचाइमा पुग्ने गरेको विगतको अवस्था हो । अहिलेसम्म संक्रमितको संख्या हेर्दा यसले धेरै ठूलो रुप नलेला भन्ने छ । तर कात्तिकसम्मै सचेत र सजग हुनैपर्छ,' भरतपुरको जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले भने ।

एक दुई दिनयता गर्मी झनै बढेको र पानी पनि पर्ने गरेका कारण यस्तो समय डेंगी फैलाउने लामखुट्टेका लागि अनुकूल मानिन्छ । डेंगी फैलाउने लामखुट्टेले जमेको सफा पानीमा अण्डा पार्छ ।

अघिल्लो वर्ष असोज १२ गतेसम्म डेंगी ज्वरोबाट संक्रमित हुनेहरुको संख्या एक हजार २३७ थियो । त्यसपछि मंसिर एक गते कुल संक्रमित दुई हजार ८७२ पुगेका थिए । यो बीचमा संक्रमितमध्ये एकजनाको निधन भएको जियो । असोज र कात्तिक डेंगी संक्रमणका हिसाबले जोखिमपूर्ण नै मानिन्छन् । विगतमा चितवनमा तीन वर्षको अन्तरालमा डेंगी संक्रमणको अवस्था जटिल हुने गर्छ । सन् २०१६, २०१९ र २०२२ मा अवस्था जटिल बनेको थियो ।

‘सन् २०२२ सम्म हरेक तीन वर्षको अन्तरालमा संक्रमित धेरै हुने गरेका थिए । तर सन् २२ पछि वर्षैपिच्छे संख्या बढेको हुन्थ्यो । यो वर्ष कम भएको छ,’ जनस्वास्थ्य कार्यालयका प्रमुख रुपाखेतीले भने ।

एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको संक्रमित लामखुट्टेको टोकाइले डेंगी सर्ने गर्छ । डेंगीबाट जोखिनु उपयुक्त उपाए भनेको यो लामखुट्टे फैलन नदिनु र लामखुट्टेको टोकाइबाट जोगिनु नै हो ।

एडिस लामखुट्टेले जमेको थोरैभन्दा थोरै सफा पानीमा पनि अण्डा पार्छ । टिनका डब्बा, प्लास्टिकका बोतल, खोल, टायर, सिसी, अण्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानी ट्याङ्कीजस्ता सानासाना ठाउँमा पानी जमे यो लामखुट्टेले अण्डा पार्छ । त्यसैले यस्तो ठाउँमा पानी जम्न नै नदिनु एडिस लामखुट्टे हुर्कन र फैलन नदिने मुख्य विधि भएको रुपाखेतीले बताए ।

यो लामखुट्टे खास गरेर दिनमा सक्रिय रहन्छ । घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टाअघि यो लामखुट्टे बढी सक्रिय हुन्छ । संक्रमित लामखुट्टेले टोकेर मन्छेमा संक्रमण भए एक्कासि ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने वाकवाकी लाग्ने जस्ता लक्षण देखिन्छ । यस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाहअनुसार परीक्षण र उपचार गराउनुपर्छ ।

What is the risk this year in Chitwan, which is plagued by dengue?

यस्तो बेला आफूखुसी औषधि खाने, स्वास्थ्य संस्थामा नजाने वा ढिलो जाने गरे जटिलता उत्पन्न भएर संक्रमितको ज्यानै जाने गरेको छ । ‘त्यसैले हामी डेंगी के हो ? कसरी सर्छ ? लक्षण के हो ? संक्रमण भए वा लक्षण देखिए के गर्नुपर्छ भन्ने सन्देश दिन स्थानीय तहको नेतृत्वमा टोल टोलमा कार्यक्रम गर्दै आएका छौं,’ जनस्वास्थ्य कार्यालयका भेक्टर (किट) कन्ट्रोल निरीक्षण राम केसीले भने ।

पानी जम्न नदिन सरसफाइमा समुदाय नै लाग्ने गरे यो रोगको संक्रमण नफैलन केसीले बताए । भदौ, असोजमा बढ्दै गएर कात्तिममा उच्च स्थानमा पुग्ने डेंगीका बिरामीको विगतको अवस्था हो । ‘त्यसैले पानी जमेका ठाउँहरुमा लामखुट्टेका लार्भा छन या छैनन् खोज्दै नष्ट गर्ने अभियान चलिरहेको छ । कात्तिकसम्म नै हामी सक्रिय रहनुपर्छ,’ केसीले भने । 

नेपालमा सबैभन्दा पहिले सन् २००४ मा चितवनमै एकजना विदेशीमा डेंगी संक्रमण पुष्टि भएको थियो । त्यसपछि यो देशका विभिन्न भागहरुमा देखापर्‍यो । यो वर्ष देशभर नै डेंगी त्यस्तो उच्च अवस्थामा नपुगेको भरतपुरको जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले बताए । सरसफाइ बढाएमा र लामखुट्टेको टोकाइबाट जोगिएमा संक्रमण सुस्त हुने उनको भनाइ छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully