यो वर्ष देशभर नै डेंगी उच्च अवस्थामा नपुगे पनि लामखुट्टेको टोकाइबाट जोगिने र सरसफाइ बढाउने कार्यमा भने ध्यान दिनैपर्ने चिकित्सकहरू बताउँछन् ।
चितवन — दसैं-तिहारका बेला कुनै समय चितवनमा डेंगी संक्रमण उच्च हुन्थ्यो । अस्पताल ज्वरोका बिरामीले भरिएका हुन्थे । तर यो पटक असोजको दोस्रो सातामा पनि चितवनमा डेंगीबाट संक्रमित हुनेको संख्या सयभन्दा तलै छ ।
गर्मी र वर्षासँगै डेंगी रोगको संक्रमण सुरु हुन्छ । भदौ-असोजमा अत्यधिक बढ्दै कात्तिकसम्म डेंगीले अत्याउने गरेको विगतको अवस्था हो । तर यो वर्ष साउनयता असोज १२ गते आइतबारसम्म चितवनमा डेंगीबाट संक्रमित हुनेहरुको संख्या ८१ मात्रै छ ।
‘यो वर्ष डेंगी संक्रमणको अवस्था एकदमै सुस्त छ । तर असोज धेरै नै बाँकी छ । कात्तिकमा डेंगी उचाइमा पुग्ने गरेको विगतको अवस्था हो । अहिलेसम्म संक्रमितको संख्या हेर्दा यसले धेरै ठूलो रुप नलेला भन्ने छ । तर कात्तिकसम्मै सचेत र सजग हुनैपर्छ,' भरतपुरको जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले भने ।
एक दुई दिनयता गर्मी झनै बढेको र पानी पनि पर्ने गरेका कारण यस्तो समय डेंगी फैलाउने लामखुट्टेका लागि अनुकूल मानिन्छ । डेंगी फैलाउने लामखुट्टेले जमेको सफा पानीमा अण्डा पार्छ ।
अघिल्लो वर्ष असोज १२ गतेसम्म डेंगी ज्वरोबाट संक्रमित हुनेहरुको संख्या एक हजार २३७ थियो । त्यसपछि मंसिर एक गते कुल संक्रमित दुई हजार ८७२ पुगेका थिए । यो बीचमा संक्रमितमध्ये एकजनाको निधन भएको जियो । असोज र कात्तिक डेंगी संक्रमणका हिसाबले जोखिमपूर्ण नै मानिन्छन् । विगतमा चितवनमा तीन वर्षको अन्तरालमा डेंगी संक्रमणको अवस्था जटिल हुने गर्छ । सन् २०१६, २०१९ र २०२२ मा अवस्था जटिल बनेको थियो ।
‘सन् २०२२ सम्म हरेक तीन वर्षको अन्तरालमा संक्रमित धेरै हुने गरेका थिए । तर सन् २२ पछि वर्षैपिच्छे संख्या बढेको हुन्थ्यो । यो वर्ष कम भएको छ,’ जनस्वास्थ्य कार्यालयका प्रमुख रुपाखेतीले भने ।
एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको संक्रमित लामखुट्टेको टोकाइले डेंगी सर्ने गर्छ । डेंगीबाट जोखिनु उपयुक्त उपाए भनेको यो लामखुट्टे फैलन नदिनु र लामखुट्टेको टोकाइबाट जोगिनु नै हो ।
एडिस लामखुट्टेले जमेको थोरैभन्दा थोरै सफा पानीमा पनि अण्डा पार्छ । टिनका डब्बा, प्लास्टिकका बोतल, खोल, टायर, सिसी, अण्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानी ट्याङ्कीजस्ता सानासाना ठाउँमा पानी जमे यो लामखुट्टेले अण्डा पार्छ । त्यसैले यस्तो ठाउँमा पानी जम्न नै नदिनु एडिस लामखुट्टे हुर्कन र फैलन नदिने मुख्य विधि भएको रुपाखेतीले बताए ।
यो लामखुट्टे खास गरेर दिनमा सक्रिय रहन्छ । घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टाअघि यो लामखुट्टे बढी सक्रिय हुन्छ । संक्रमित लामखुट्टेले टोकेर मन्छेमा संक्रमण भए एक्कासि ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने वाकवाकी लाग्ने जस्ता लक्षण देखिन्छ । यस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाहअनुसार परीक्षण र उपचार गराउनुपर्छ ।
यस्तो बेला आफूखुसी औषधि खाने, स्वास्थ्य संस्थामा नजाने वा ढिलो जाने गरे जटिलता उत्पन्न भएर संक्रमितको ज्यानै जाने गरेको छ । ‘त्यसैले हामी डेंगी के हो ? कसरी सर्छ ? लक्षण के हो ? संक्रमण भए वा लक्षण देखिए के गर्नुपर्छ भन्ने सन्देश दिन स्थानीय तहको नेतृत्वमा टोल टोलमा कार्यक्रम गर्दै आएका छौं,’ जनस्वास्थ्य कार्यालयका भेक्टर (किट) कन्ट्रोल निरीक्षण राम केसीले भने ।
पानी जम्न नदिन सरसफाइमा समुदाय नै लाग्ने गरे यो रोगको संक्रमण नफैलन केसीले बताए । भदौ, असोजमा बढ्दै गएर कात्तिममा उच्च स्थानमा पुग्ने डेंगीका बिरामीको विगतको अवस्था हो । ‘त्यसैले पानी जमेका ठाउँहरुमा लामखुट्टेका लार्भा छन या छैनन् खोज्दै नष्ट गर्ने अभियान चलिरहेको छ । कात्तिकसम्म नै हामी सक्रिय रहनुपर्छ,’ केसीले भने ।
नेपालमा सबैभन्दा पहिले सन् २००४ मा चितवनमै एकजना विदेशीमा डेंगी संक्रमण पुष्टि भएको थियो । त्यसपछि यो देशका विभिन्न भागहरुमा देखापर्यो । यो वर्ष देशभर नै डेंगी त्यस्तो उच्च अवस्थामा नपुगेको भरतपुरको जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले बताए । सरसफाइ बढाएमा र लामखुट्टेको टोकाइबाट जोगिएमा संक्रमण सुस्त हुने उनको भनाइ छ ।
