कोदारी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परेकी अस्ट्रेलियन नागरिकको मृत्यु

काठमाडौंबाट तातोपानीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा अस्ट्रेलियन नागरिक ७१ वर्ष पिटर र उनकी श्रीमती जेनेट ज्याक्सन गम्भीर घाइते भएका थिए ।

आश्विन ११, २०८२

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसे–तातोपानी सडक खण्डमा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा घाइते दम्पतीमध्ये एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार काठमाडौंमा उपचारको क्रममा ६८ वर्षीया जेनेट ज्याक्सनको  मृत्यु भएको हो। मोटरसाइकल चालक पिटर ज्याक्सन भने हाल नर्भिक अस्पतालको आईसीयूमा उपचाररत छन् । 'दुवैको अवस्था गम्म्भीर थियोे, एकको मृत्यु भएको छ ,' इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले भने । 

भोटेकोशी गाउँपालिका–४, चारकिलोमा बा.८९ प.९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना निम्तिएको थियोे । घाइते दुवै जनालाई प्रारम्भिक उपचारका लागि धुलिखेल अस्पताल अन्तर्गतको शाखा हिन्दी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारपश्चात थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित नर्भिक अस्पताल पठाइएको थियोे ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully