तुइनखोलाको अवरोध हटाउन १७ ठाउँ सवारी रोकिएको थियो

पहिरो गएको ५४ घण्टापछि बिहीबार मध्यरात सडक खुलेपछि सवारीसाधन गन्तव्यतिर लागेका छन् ।

आश्विन १०, २०८२

रमेशकुमार पौडेल

Vehicles were stopped at 17 places to clear the obstruction of Tuinkhola

चितवन — अति व्यस्त रहने नारायणगढ-मुग्लिन सडक तुइनख‍ोलामा ठूलो पहिरो खस्दा दुई दिन र लगभग अढाई रात ठप्पै भयो । पहिरो गएको ५४ घण्टापछि बिहीबार मध्यरात सडक खुल्यो र लामो समय रोकिएका गाडी बिहान हुँदानहुँदै गन्तव्यतिर लागे ।

दैनिक १० हजारभन्दा बढी गाडी ओहोरदोहर गर्ने यो सडकमा अहिले दसैंका बेला परेकाले चाप झनै बढ्छ । त्यसैले खसेको पहिरो सफा गर्न र सडकमा गाडी व्यवस्थापन गर्न ठूलो मेहनत लाग्ने गरेको छ ।

मंगलबार साँझ ५ बजेतिर ठूलो पहिरो खसेपछि चितवन प्रशासनले तत्कालै सूचना निकालेर अत्यावश्यकबाहेक यात्रामा ननिस्कन र निस्केका गाडीलाई वैकल्पिक मार्ग अपनाउन अनुरोध गर्‍यो । प्रशासनले वैकल्पिक मार्गको रूट नै सार्वजनिक गर्‍यो । पहिरो नजिक पुगेका यात्रु पनि पाँचकिलो भन्ने ठाउँको झोलुङ्गे पुलको उपयोग गर्दै यताका यात्रु मुग्लिन जाने र मुग्लिनका यात्रुहरू पाँचकिलो आउने गरे ।

झोलुङ्गे पुलपारि तनहुँ त्रिशूली नदीको किनारमा नारायणगढ-मुग्लिन सडकको समानान्तर सडक निर्माण सुरू भएको छ । त्यहाँ साना पिकअप गाडी र मोटरसाइकल चल्छन् । पहिरोले अड्केका यात्रुहरूले यही बाटो प्रयोग गरे । कोही जिप चढे, कोही मोटरसाइकल र कोही पैदलै हिँडे ।

बुधबार दिउँसोसम्म सडकमा बस र यात्रु साह्रै कम थिए । चितवन प्रहरीले मंगलबार रातिबाटै बस फर्काउन सुरु गरेको थियो । प्रशासनले वैकल्पिक मार्ग अपनाउन भने पनि मालवाहक ट्ररक ती वैकल्पिक बाटोबाट जान सक्ने अवस्था थिएनन् । त्यसैले ट्रकहरू मुख्य राजमार्ग हुँदै आइरहेका थिए । यसरी आउने ट्रकलाई प्रहरीले नारायणगढ-मुग्लिन सडकवरै रोकिराखेको थियो  । 'लोथरदेखि नै ठाउँठाउँमा ट्रकहरू राेक्यौं । जसका कारण नारायणगढ-मुग्लिन सडकमा ट्राफिक व्यवस्थापन सहज भयो । दुई लेनको बाटोमा एउटा लेन पूरै खाली राख्न सक्यौं,' चितवन प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले भने, 'जसका कारण पहिरो सफा गरेर बाटो खुलेलगत्तै यातायात चलाउन सहज भयो ।'

उनका अनुसार १७ ठाउँमा गाडी रोकेर राखिएको थियो । गाडी राेकिने ठाउँमा बीचतिर पर्यााप्त खाली ठाउँ राखिएको थियो । यसअघि गत शुक्रबार पहिरो आएर आइतबार दिउँसो ४५ घण्टासम्म बाटो बन्द हुँदा तँछाडमछाड गरेर सडकमा अव्यवस्थित तरिकाले गाडी राख्दा पहिरो सफा गर्ने मेसिन लैजान र इन्धन पुर्‍याउन पनि सकस हुने गरेको थियो । यो पटक लामो समयसम्म सडक जाम हुनुका साथै तुइनखोला र यसभन्दा अगाडि पृथ्वी राजमार्गको धादिङ जवाङखोला नजिक पनि पहिरो गएर लामो समय बाटो बन्द भएको थियो । बन्दमाथि बन्द थपिँदा ट्राफिक व्यवस्थापन गाह्रो हुने भए पनि बेलैमा योजना बनाउँदा पहिलाको भन्दा सहज भएको डीएसपी खनालले बताए । उनले भने, 'यो तरिका अब पहिरो जाँदा पनि अपनाउनेछौं । अन्यत्र पनि यसै गर्दा राम्रो हुने देखियो ।'

मंगलबार पहिरो गएको तुइनखोलामा बुधबार बिहानदेखि चारवटा मेसिनले पहिरो सफा गर्न सुरु गरेका थिए । त्यसपछि पाँचवटा र अन्तिममा ६ वटा मेसिनले पहिरो सफा गरे । निरन्तर पहिरो र चुच्चा परेका साना ठूला ढुंगा खसिरहने ठाउँमा पहिरो हटाउने काम निकै जोखिमपूर्ण थियो ।

तुइनखोलाभन्दा केही पर पश्चिममा रहेको नाम्सी खोलामा पनि बुधबार साँझ पहिरो खसेपछि सफा गर्न गएको मेसिनका सिनियर अप्रेटर (चालक) राजु मगर घाइते भएको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित चितवनका सुरक्षा प्रमुख, सडक कार्यालयका प्रमुख र इन्जिनियरहरू पनि पहिरो स्थलमै बसेर पहिरो हटाउने र ट्राफिक व्यवस्थापनमा खटिए । उनीहरुले सडकमा राेकिएका गाडीका चालक, सहचालक र यात्रुहरूको समस्या सम्बाेधन गरिरहेका थिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully