भरतपुर कारागारमा गैंडा मुद्दाका कैदी : पुराना फर्किए, नयाँ फरार

भदौ २६ मा कारागारबाट भाग्नेमध्ये तीनजना दुई वर्षअघि दुईवटा गैंडालाई खाल्टोमा पारेर मार्ने तथा खागको कारोबार गर्नेहरू हुन् ।

आश्विन १०, २०८२

रमेशकुमार पौडेल

Rhino case prisoners in Bharatpur Jail: Old returned, new absconded

चितवन — दुर्लभ वन्यजन्तु गैंडा मारेको अपराधमा पक्राउ परेर मुद्दा फैसला भएका ४६ र फैसला हुन बाँकी दुई गरी भरतपुर कारागारमा ४८ जना कैदी तथा थुनुवा थिए । जेन-जी आन्दोलनको मौका छोपी भदौ २५ गते बिहानै सबै कैदी तथा थुनुवा जेलबाट भागे ।

उसै दिन चितवन प्रशासनले सूचना निकालेर कारागारबाट बाहिरिएका सबै कैदीबन्दीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको थियो । प्रशासनको सूचना अनुसार कारागार हाजिर भए थप केही कारबाही नहुने तर नआएमा कानुनअनुसार अन्य कारबाही पनि हुने प्रशासनको चेतावनी थियो । त्यसपछि धेरै कैदीबन्दी फर्केका छन् ।

कारागार शाखाका प्रमुख रवीन्द्र ढुंगानाले शुक्रबार बिहानसम्म ५५७ जना फिर्ता भइसकेको बताए ।कारागारमा ७४२ जना कैदी तथा थुनुवा थिए । फर्किनेमा गैंडा मुद्दाका ३१ छन् । 

कुनै बेला खुँखार भनिएका तर लामो समय कारागार बसेर एकाध वर्षपछि नै रिहा हुने अवस्थाका कैदी तथा भर्खर मुद्दा प्रक्रिया सुरु भएका थुनुवा फर्किएका हुन् । जो फर्केका छैनन्, ती २०७८ सालयता पक्राउ परेर कैद सजाय पाएकाहरू छन् । उनीहरूलाई पाँच वर्षदेखि माथि १५ वर्षसम्म कैद भएको छ ।

गैंडा मुद्दामा अपराध प्रमाणित भए पाँच वर्षदेखि १५ वर्षसम्म कैद या पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना अथवा कैद र जरिवाना दुवै सजाय हुने कानुनी व्यवस्था छ । कारागार नफर्कनेहरूमा कैद र जरिवाना दुवै अधिकतम अर्थात् १५ वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना भएका तीनजना छन् । त्यसै गरी अधिकतम कैद १५ वर्षसहित एक लाख रुपैयाँ जरिवाना भएका दुईजना छन् ।

कैद र जरिवाना दुवै अधिकतम पाएका तर भदौ २६ मा बाहिरिएर हालसम्म नफर्केका तीनजना दुई वर्षअघि २०८० को कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रमा दुईवटा गैंडा खाल्टोमा पारेर मार्ने तथा खागको कारोबार गर्नेहरू हुन् । उनीहरू सोही वर्षको मंसिरमा पक्राउ परेका थिए । चितवन निकुञ्जमा वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले पनि चपरचुली इलाकामा गैंडा मार्ने मध्येका केही नफर्केको बताए । 

चपरचुलीमा गैंडा मार्नेहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समाएको थियो । त्यो बेला दसैँ तिहारको समय पारेर गैंडा सिकार भएको थियो । अहिले पनि उही समय छ र त्यो बेला गैंडा मारेकाहरू कारागार बाहिर हुँदा सुरक्षा चुनौती थपिएको छ । गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । यसको संख्या घट्नुमा चोरी सिकारी पनि मुख्य कारक हो ।

पछिल्ला वर्ष चोरी सिकारीमा संलग्न धमाधम समातिँदा गैंडा मार्ने क्रम घटेर शून्य चोरी सिकारकै अवस्था आएको थियो । चोरी सिकारीविरुद्ध कारबाही लागि अनुभव प्राप्त चितवन निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृतसमेत भइसकेका तर हाल सेवामा नरहेका कमलजंग कुँवर कारागारबाट जोजो बाहिरिए उनीहरूलाई तत्काल फर्काउन आवश्यक रहेको बताउँछन् । 

भरतपुर कारागारका प्रमुख ढुंगानाले प्रशासनले आफै फर्कन दिएको समय अवधि सकिएको बताए । ‘तर जिल्लामा वन्यजन्तु अपराध नियन्त्रण इकाइ हुन्छ । यसको बैठक बसेर नआएकाहरूलाई आउन अपिल गर्ने, सोअनुसार आएमा कारबाही नहुने व्यवस्था गर्दा राम्रै होला,’ पूर्व प्रमुख संरक्षण अधिकृत कुँवरले भने ।

जिल्लाको इकाइ मात्रै नभएर मन्त्रालय तहमा राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समिति र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग स्तरमा वन्यजन्तु अपराध नियन्त्रण इकाइ हुन्छ । गैंडा लगायतका दुर्लभ वन्यजन्तु अपराधमा मुछिएकाहरू कारागार नफर्केको हो भने यी संयन्त्रहरू गम्भीर हुनु पर्ने कुँवर बताउँछन् ।

जिल्ला र केन्द्रका सबै इकाइहरूले यो विषयलाई ख्याल राखेर छिट्टो प्रभावकारी कदम चाल्न उनले अपिल गरे । ‘स्थानीय तहमा सेना सक्रिय भएकै होला । सीआईबीको सहयोग लिऔं । विभिन्न विधि र प्रक्रियाबाट बाहिरिएकाहरुलाई कारागार ल्याउन आवश्यक छ,’ कुँवरले भने ।

चितवन निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्त बाहिरिएकाहरु प्राय निकुञ्ज र प्रशासनको निगरानीमै रहेको र फर्काउने क्रम जारी नै रहेको बताउँछन् ।

भरतपुर कारगारामा मात्रै नभएर वन्यजन्तु अपराधका कैदी र थुनुवा अन्य कारागारमा पनि छन् । चितवनमै मुद्दा चले पनि केही कैदीहरू अन्य कारागारमा छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले क्षति पुगेका भौतिक संरचनाको विवरण संकलन गरिरहेको छ । अब कैदीबन्दीहरुको विवरण पनि लिने तयारीमा छ ।

‘यो कारागारमा रहने विषय भयो । कुन कारागारको अवस्था के हो ? को थिए, को बाहिरिए या कोको फर्किए, कारागार विभागसँग समन्वय गरेर त्यसको विवरण संकलन गर्दै छौं, ’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully