किन सुनसान भयो सौराहा ?

होटलका कोठा ७० प्रतिशतभन्दा धेरै बुकिङ भएका बेला जेन-जी आन्दोलनको प्रभावले बुकिङ नै धमाधम रद्द हुन थालेको व्यवसायी बताउँछन् ।

आश्विन ९, २०८२

रमेशकुमार पौडेल

Why is Sauraha deserted?

चितवन — दुई दिनपछि सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस परेको छ । देशको प्रमुख पर्यटकीय स्थलमध्येको सौराहामा बिहीबार नै 'चितवनमा पर्यटनको विकास, सम्भावना तथा चुनौती' विषयक अन्तर्किया भयो । जसमा जेन जी आन्दोलनपछि पर्यटनमा परेको असरका बारेमा चर्चा  चल्यो ।

पर्यटन याम (सिजन) सँगै विश्व पर्यटन दिवस मनाउने गरिन्छ । तर यो पटक जेन-जी आन्दोलनको प्रभाव पर्यटकीय स्थलहरूमा परेको छ । मुख्य पर्यटकीय स्थल नै सुनसान जस्तै छन् ।

'यो बेला पर्यटकले भरिभराउ हुनुपर्ने हो । विदेेशी पर्यटक आउने सिजन नै यही बेला हो । दसैं, तिहारको मेसोमा नेपाली पनि धेरै नै घुम्न निस्कन्छन् । तर यो वर्ष अवस्था अर्कै छ,' कार्यक्रममा क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष ओम पाण्डेले भने । उनले सौराहाका होटलका कोठा ७० प्रतिशतभन्दा धेरै बुकिङ भएका बेलामा जेन-जी आन्दोलनको प्रभावले बुकिङ नै धमाधम रद्द हुन थालेको बताए । '९० प्रतिशत बुकिङ रद्द भएका छन् । अवस्था चिन्ताजनक छ,' उनले भने ।

बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठ नेपालका पर्यटन क्षेत्र सुरक्षित छन् भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक रहेको बताउँछन । सरकार र पर्यटन व्यवसायीले मिलेर यो अभियान चलाउन पनि उनले अपिल गरे ।

संरक्षणकर्मी तथा पर्यटन व्यवसायी वासु ढुंगानाले सुरक्षाको अवस्था संवेदनशील देखिएको हुँदा प्रशासन र समुदाय मिलेर अगाडि बढ्न आवश्यक रहेको धारणा राखे । बागमती प्रदेशको पर्यटन मन्त्रालयअन्तर्गत सौराहामा रहेको पर्यटन कार्यालयको सहकार्यमा क्षेत्रीय होटल संघले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संकटलाई अगाडि राखेर बसे आपतविपद्‍बाट निस्कन गाह्रो पर्ने बताए । अप्ठ्यारो समयको सामना गर्न प्रशासन सहयोगी बन्ने उनले बताए ।

चितवन निकुञ्ज विश्वकै दुर्लभ एकसिंगे गैंडा, बाघलगायत जनावरहरूको मुख्य बासस्थल हो । यी जनावर हेर्न देश-विदेशबाट वर्षमा तीन लाख पर्यटक चितवन आउँछन् । चितवन निकुञ्ज प्रवेश गर्ने १० नाकामध्ये सौराहा मुख्य हो । यो नाका हुँदै ८५ प्ररतिशत पर्यटक निकुञ्ज घुम्ने गरेको तथ्यांक छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully