तुइनखोलाको पहिरो हटाइयो, मुग्लिन-नारायणगढ सडकमा आजै रातिदेखि गाडी चलाउने तयारी

भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले मुख्य पहिरो हटाए पनि छेउछाउको माटो ढुंगा सफा भइरहेको बताए ।

आश्विन ९, २०८२

रमेशकुमार पौडेल

The Tuinkhola landslide has been removed, the Muglin-Narayangadh road is ready to drive from tonight

चितवन — तुइनखोलामा गएको मुख्य पहिरो बिहीबार राति साढे ९ बजेतिर सफा गरिएको छ । पहिरो हटाउन डिभिजन सडक कार्यालयलाई लगभग ५३ घण्टा लाग्यो ।

भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले मुख्य पहिरो हटाए पनि छेउछाउको माटो ढुंगा सफा भइरहेको बताए । आजै रातिबाट दोहोरो गाडी चलाउने उद्देश्यले पहिरोग्रस्त क्षेत्रका सबै अवरोध सफा गरिरहेको उनले बताए । राति ११ बजे आसपासमा गाडी चलाउने तयारी छ ।

मंगलबार दिउँसो पाँच बजेतिर ठूलो पहिरो झरेपछि यो सडक अवरूद्ध थियो । मुग्लिनदेखि साढे दुई किलोमिटर पर नारायणगढतर्फ रहेको तुइनखोलामा गत शुक्रबार साँझदेखि पहिरो गएका कारण यो सडक यसअघि नै लगातार ४५ घण्टा ठप्प भएको थियो । मंगलबार गएको पहिरो बुधबार बिहानदेखि पहिरो सफा गर्न सुरू भएको थियो । 

सुरूमा चार र अन्तिम क्षणमा ६ वटा मेसिनहरू पहिरो हटाउन प्रयोग भएका थिए ।  शुक्ररबारदेखि नै पहिरोले थुनिएका गाडी राम्रोसँग पार हुन नपाउँदै मंगलबार फेरि ठूलो पहिरो खसेर बाटो थुनियो । 

राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्व-पश्चिम महेन्द्र राजमार्गसँग ज‍ड्ने मुख्य सडक भएका कारण नारयणगढ-मुग्लिन सडकमा दिनमै १० हजारभन्दा बढी गाडी ओहरदोहर गर्छन् । दसैंका बेला काठमाडौं छाड्नेहरूको चाप रहेका बेला लामो समय बाटो बन्द हुँदा धेरैलाई पीडा भएको छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully