सवारी दुर्घटनामा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा पर्वत मोदी गाउँपालिका–६ कि ३५ वर्षीया लक्ष्मी रानाको मृत्यु भएको हो ।

आश्विन ८, २०८२

प्रताप विष्ट

A woman who was injured in a traffic accident died during treatment

हेटौंडा — पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ वस्तीपुरमा भएको बस, ट्रक र ट्यांकर ठोक्किँदा भएको सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मंगलबार बेलुका मृत्यु भएको छ ।

हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा पर्वत मोदी गाउँपालिका–६ कि ३५ वर्षिया लक्ष्मी रानाको मृत्यु भएको हो । 

उक्त दुर्घटनामा ३९ जना घाइते भएका थिए । २ जना घाइतेको अवस्था गम्भिर थियो । उनीहरुको उपचार हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा गरिएको थियो । अधिकांश घाइतेहरु घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको टायर पड्केर बस अनियन्त्रित भएर हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको माल बाहक ट्रकसँग ठक्कर खान जाँदा ट्रक अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्यांकरलाई ठक्कर दिएको थियो ।  

सोमबार भएको दुर्घनामा बस र ट्रकमा सवार ३९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । घाइतेहरुलाई तत्कालै उद्धार गरेर उपचारको निम्ति हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा पुर्‍याएको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully