तुइनखोलामा निरन्तर ढुंगा खसिरहेपछि नारायणगढ मुग्लिन सडक ठप्प

स‍ोमबार साँझदेखि दुईतर्फी नै बाटो खुलाइए पनि सडक मााथिबाट बेला बेलामा ढुंगा र पहिरो खस्न छाडेको छैन ।

आश्विन ७, २०८२

रमेशकुमार पौडेल

Narayangarh Muglin road blocked due to continuous stone fall in Tuinkhola

चितवन — तुइनखोलामा मंगलबार दिउँसो एक बजेदेखि निरन्तर ढुंगासहित पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडक ठप्प भएको छ ।

ढुंगा झरेको झर्‍यै भएपछि कामै सुरू गर्न नसकेको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए । पहिरो ठूलो नभए पनि ढुंगा झर्न नरोकिँदा सफा गर्न नसकेको उनले बताए । दिउँसो पौने चार बजेसम्म पनि निरन्तर ढुंगा झरिरहेका छन् । ढुंगा झर्न रोकिएर काम सुरू भए बढीमा आधा घण्टामा पहिरो सफा हुने उनले बताए ।

तुइनखोलामा शुक्रबार साँझ पहिरो जाँदा ४५ घण्टापछि आइतबार दिउँसो एकतर्फी बाटो खुलेको थियो । हिजो स‍ोमबार साँझबाट दुईतर्फी नै बाटो खुलेको थियो । तर सडक मााथिबाट बेला बेलामा ढुंगा र पहिरो खस्न छाडेको छैन ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully